English

‘योजनाअनुरूप तीव्र गतिमा काम गर्न सकिएन’ (भिडियो पनि)



नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र लागु भएपछिको पहिलो कार्यकाल सकिँदै छ । २०७४ मा निर्वाचित भएर आएका जनप्रतिनिधिहरुको ५ वर्षे कार्यकाल पुरा हुन केही समय मात्र बाँकी छ । लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण भए पछि बनेको राज्य संरचना अन्तर्गत ‘सिंहदरबारको अधिकार गाउँमा आउने’ भनिएपछि धेरै सुविधा पाइन्छ भन्ने आशाका साथ जनताले जनप्रतिनिधी चुने । कार्यकालको उत्तरार्धमा आइपुग्दा पालिकाले कति, कस्ता, कसरी विकासहरू गर्यो भन्ने विषयमा केन्द्रित रहेर बागमती प्रदेश, काठमाडौँ जिल्लाको बुढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख (मेयर) उद्धव प्रसाद खरेलसँग मेरो लाइफस्टाइलकी संवाददाता सुमित्रा लुइँटेलले गरेको कुराकानी :

बुढानीलकण्ठ नगरपालिकाको पहिलो मेयरको रूपमा पाँच वर्षे कार्यकाल कस्तो रह्यो ?

सुरुका दिनहरू एकदमै कठिनाइ तथा समस्याहरूले घेरिएको थियो । बिस्तारै हाम्रो अनुभव, केन्द्र सरकारको निर्देशन र जनताको समस्यालाई ध्यानमा राखेर काम गर्दै गयौँ । नगरवासीले एकै चाटी धेरै समस्या समाधान हुन्छ भनेर पनि अपेक्षा गरेका थिए । तर, जुन हिसाबले काम अघि बढ्नु पर्ने थियो त्यसरी बढाउन भने सकिएन । स्रोत साधनको अभाव, नियम कानुनको समस्या र कोरोना सङ्क्रमणले गर्दा हाम्रो काममा लगभग दुई वर्ष ढिला भयो ।

पूर्वाधारको विषयमा, संरचनात्मक र सङ्गठनात्मक हिसाबमा दैनिक रूपमा प्रवाह गर्ने सेवाको कुरामा भने यो नगरपालिकाले केही काम गरेको छ । एउटा राम्रो जग बसाल्न हामी सफल भएका छौँ । त्यसैले, आगामी चुनावमा छाती फुलाएर फेरि पनि जनता सामु जान सक्ने वातावरण सिर्जना गरेका छौँ ।

नगरवासी समक्ष के–कस्ता प्रतिबद्धता गर्नुभएको थियो ?

सुशासन, पूर्वाधार, सामाजिक विकास, आर्थिक विकास र वन वातावरण तथा विपत् व्यवस्थापन यी पाँच ओटा कुरा र जनताको आवश्यकता अनुसारका अन्य कुराहरूलाई पनि प्राथमिकतामा राखेर काम गर्छौ भनेर जनता सामु प्रतिबद्धता जनाएका थियौ ।

प्रतिबद्धता जनाउनुभएको काम कति पूरा भयो ?

इमानदारी पूर्वक भन्दा साधन स्रोत, नियम कानुनका कठिनाइको बाबजुद पनि हामीले पूर्वाधार ७० प्रतिशत, सामाजिक विकासमा ६५ प्रतिशत, सहरी विकासमा ६० प्रतिशत र सुशासनमा ८० प्रतिशत गरेर औसतमा ७० देखि ७५ प्रतिशत काम पुरा गरेका छौँ ।

प्रतिबद्धता गर्नुभएको मध्ये कति काम पुरा गर्न बाँकी छ ?

सुशासनलाई प्रविधि युक्त बनाउन बाँकी छ, त्यो बिस्तारै हुँदै जान्छ । पूर्वाधारको काममा हामी धेरै प्रतिशत सफल भएका छौँ । आर्थिक विकास अलि कठिन छ त्यो पनि बिस्तारै हुने कुरा हो । राजधानीमा धेरै जनता बेरोजगार छन्, उनीहरूलाई रोजगारी दिने कुरा हाम्रो देशकै एउटा समस्या हो । त्यो समस्यालाई हामीले पनि भोगी रहेका छौँ । पूर्वाधारको काम सकाएर यहाँको जनतालाई रोजगारी दिने काम प्राथमिकतामा रहने छ । सामाजिक विकासमा पनि धेरै राम्रा काम भएका छन् । केही प्रतिशत मात्र काम बाँकी छ । समग्रमा भन्दा ३५ प्रतिशत जति काम गर्न बाँकी छ ।

केन्द्र र प्रदेश सरकारसँगको समन्वय कस्तो रह्यो ?

केन्द्र र प्रदेश सरकारसँगको सम्बन्ध बिस्तारै सुदृढ हुँदै छ । केन्द्र सरकारले बेला बेलामा निर्देशन र नियमन गरिरहेको छ । कहिलेकाहीँ केन्द्र सरकारबाट हस्तछेप पनि हुन्छ । हामीले सबै कुराहरू केन्द्र सरकार समक्ष पु¥याउन सकिरहेका छैन ।

समन्वयको लागि प्रदेश सरकार बिचमा अलमली रहेको छ । साना–साना योजना बाँडेर बसिरहेको छ । हामी जनताको घरदैलोमा छौँ । तीन वटा सरकारको बिचमा सिक्दै, जान्दै र समन्वय गर्दै सम्बन्ध सुदृढ हुन जरुरी छ । सहकार्य, समन्वय र सहअस्तित्व भन्ने मुल मन्त्र पालना गर्दै अघि बढ्ने क्रममा सुरुका दिन भन्दा अहिले समन्वय सहज हुँदै छ ।

स्थानीय तहको पहिलो अगुवाइ भएर काम गर्दा कस्ता चुनौतीहरू खेप्नुभयो ?

छ वटा गाउँ विकास समितिलाई एकीकृत गरेर नगर पालिकाको रूपमा संरचना, सङ्गठन, विकासका मोडलहरू बनाउनु चुनौतीपूर्ण थियो । भौतिक पूर्वाधार, कर्मचारी आदि पनि व्यवस्थापन गर्न गाह्रो भयो । पहिले स्थानीय स्तरमा बसेर काम नगरेका कर्मचारीलाई काम सिकाउन र गराउन सहज थिएन ।

प्रमुख प्रशासकीय अधिकृत र प्रशासकहरू सरकारले पटक–पटक फेरिरहने समस्या पनि भोग्नु प¥यो । पाँच वर्षको अवधिमा आठ वटा प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भए । विभिन्न चुनौती र कठिनाइलाई छिचोल्दै अघि बढिरहेका थियौँ । स्थानीय सरकार जनताको हितको लागि काम गर्न बनेको हो भनेर जनताले बुझ्दै थिए । त्यसै बिच कोरोना महामारी आयो । कोरोना महामारीलाई व्यवस्थापन गर्नु पर्ने अर्को चुनौती पनि थपियो ।

चुनौती कम गर्न के गर्नुपर्ला ?

चुनौती त थपिँदै जान्छन् तर केन्द्र सरकार र प्रदेश सरकारले सहयोग गरेको खण्डमा चुनौतीहरू कम भएर जान्छन् । संविधानमा स्थानीय तहलाई दिएका अधिकार सदुपयोग गर्नु पर्छ । स्रोत, साधन र जनशक्ति व्यवस्थापन गर्नुपर्छ । यहाँको समस्या, संविधानले दिएको अधिकार सबैको आधारमा हामीले काम गर्दै जानुपर्छ ।

तपाईँलाई भोट दिएर जिताएका जनताको जीवनशैलीमा के–कस्तो परिवर्तन आयो ?

परिवर्तनको कुनै मापन त छैन । जनताले आशा गरेबमोजिम कामहरू अझै प्रभावकारी हुन सकेन होला । तर, स्थानीय तहमा गरिने कार्यहरूलाई हामीले सम्बोधन गरेका छौँ ।

यो नगरपालिकामा विभिन्न जिल्लाबाट बसाई सराई गरेर आएका जनताहरू छन् । धेरै नगरबासी आर्थिक रूपमा सबल पनि छन् । उहाँहरूलाई चिल्लो बाटो, खानेपानी, बिजुली, टेलिफोन, शिक्षा, स्वास्थ्य र शान्त वातावरण चाहिएको छ ।

उहाँहरूको सेवा सुविधाको लागि हामीले बाटोको काम ७० प्रतिशत पूरा गरी सक्यौ । खानेपानीको लागि मेलम्चीको अपेक्षामा बसेका छौ, संरचनात्मक तयारी पुरा भई सक्यो । बिजुली टेलिफोनको त सुविधा छँदै छ । फोहोर व्यवस्थापनमा पनि लागि रहेका छौँ । शिक्षाको र स्वास्थ्यको क्षेत्रमा धेरै राम्रो काम भएको छ । नगर अस्पताल बन्ने क्रममा छ । जनताको जीवनस्तर उकास्ने काममा हामी इमान्दारी पुर्वक लागेका छौँ ।

तपाईँको कार्यकालमा सम्झन लायक काम के के भए ?

१८ वटा नगरपालिका मध्ये सबैभन्दा पहिले यो बुढानीलकण्ठ नगर पालिकाको भवन निर्माण गर्यौ । सडकको काम हामीले लगभग सकायौँ । वृद्धवृद्धा तथा बालबालिका मैत्री पार्कहरू निर्माण गरेका छौँ । ‘झलमल्ल बुढानीलकण्ठ’ भन्ने योजना अन्तर्गत करिब ७ करोडको योजना कार्यान्वयन हुन तयारी अवस्थामा छ । यो चुनाव अघि त्यसलाई पुरा गर्न नसके पनि चुनाव लगत्तै यो कार्यान्वयन हुने छ ।

आगामी नगरप्रमुख जो चयन भए पनि उहाँलाई कस्तो सुझाव दिन चाहनुहुन्छ ?

आगामी नगरप्रमुख जो कोही भए पनि नगरबासीको हक हितका लागि काम गर्ने हुनुपर्छ । आधारभूत कुराहरू हामीले तयार पारेका छौँ । हामीले पुरा गरेका काम र अधुरा भएका कामलाई पुरा गर्ने अठोट राख्नु पर्छ ।

नगरबासीको आवश्यकतालाई ध्यानमा राखेर जनताको हितको लागि काम गर्ने व्यक्ति चयन हुनु जरुरी छ । नगरप्रमुख पारदर्शी हुनु पनि जरुरी छ । कोरोना महामारी, समयमा नीति नबन्दा, जनशक्तिको अभावले हाम्रो केही काममा बाधा पुग्यो । योजनाअनुरूप तीव्र गतिमा काम गर्न सकिएन । पाँच वर्षको अनुभवलाई आगामी दिनमा फेरि काम गर्ने मौका पाएमा सायद यो सिकाइबाट सुधार गर्दै बाँकी रहेका धेरै कार्य गर्नेछु ।

भिडियो :

भिडियो : किरण स्याङ्बो/ मेरो लाइफस्टाइल

यो पनि…
स्थानीय तह निर्वाचनको इतिहासलाई नियाल्दा
पोखरामा दर्जनौँ आकांक्षी नेतृत्वको होडमा



सम्बन्धित खबरहरु

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

गायक प्रमोद खरेलको सुमधुर आवाजमा सजिएको “बेग्लै खुशी” बोलको म्युजिक भिडियो ओएसआर  डिजिटल युट्युब च्यानलमा सार्वजनिक भएको छ। प्रेमिल शैलीको

‘सेलिब्रेसन इन स्प्लेन्डर’ थिम अन्र्तगत हङकङमा आयोजित सांस्कृतिक कार्यक्रममा नेपालले समेत आफ्नो प्रस्तुति दिएको छ । २० भन्दा बढी एसियाली