संघीय निजामती ऐन कहिले आउँछ ?
नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) का केन्द्रीय अध्यक्ष हरिबहादुर रावलले कर्मचारीको अधिकारका लागि संघीयता अनुकूलको संघीय निजामती ऐन चाँडै आउनुपर्ने बताए । उनले राष्ट्रिय कर्मचारी संगठन (निजामती) जुम्लाको पाँचौँ जिल्ला अधिवेशनमा यस्तो बताएका हुन् ।
रावलले समायोजन विधेयक कर्मचारीलाई अन्याय गरेकाले चाँडै संघीय निजामती ऐन ल्याउन नेपाल सरकार, ट्रेड युनियन र सरोकारवालाहरूको प्रथमिकतामा परेको बताए । त्यस्तै समायोजन ऐन अध्यादेशबाट ल्याइएको तर सरोकारवाला निकायहरूसँग समन्वय नगरी अगाडि ल्याइएको हुँदा पूर्ण नभएको बताए ।
समायोजन ऐनले संघीयताको कार्यान्वयन भने भएको छ । उनले भने, ‘अबको संघीय निजामती ऐन आएमा कर्मचारी समायोजन तथा सरुवाको विषयमा प्रस्टाउने समेतमा जोड्छ ।’ सरुवामा पहुँच नभई दुई वर्षमा हरेक कर्मचारीले सरुवा हुनुपर्छ भन्ने मानसिकता कायम गर्ने नीतिगत व्यवस्था हुने उनले बताए ।
अध्यक्ष रावलले कर्मचारीले जनतालाई सेवा प्रवाहमा फरकपन तथा अनुभूति दिनेगरी काम गर्न निर्देशन दिए । सेवा प्रवाहमा मुस्कान सहितको सेवा तथा सृजनात्मक काम गरेर कर्मचारीको नाम राख्न पनि अनुरोध गरे ।
त्यस्तै कार्यक्रममा जुम्लाका संघीय सांसद गजेन्द्रबहादुर महतले कर्मचारी स्थायी सरकार भएकाले राज्यको समृद्धिका लागि काम गर्न कर्मचारीको भूमिका महत्त्वपूर्ण रहेको बताए । ‘देशको विकास तथा नीति कार्यान्वयन कर्मचारीको हातमा भएकाले नेपाल राष्ट्रिय निजामती कर्मचारी (निजामती) ले प्राथमिकता राख्नुपर्ने छ,’ उनले भने ।
त्यस्तै पूर्वराज्यमन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोमा कुँवरले कर्मचारी र पार्टीको समन्वय थप बढ्नुपर्ने भन्दै तल्लो स्तरका कर्मचारीको हक अधिकारमा जोड दिनुपर्ने बताइन् ।
त्यस्तै माओवादी केन्द्र जुम्लाका अध्यक्ष वीरबहादुर कुँवरले माओवादीले ८औं महाधिवेशनमा दिएको म्याण्डेट २१औं शताब्दीको नेपाल अनुकूलको समाजवाद भएकाले सबै निकायको सहयोग आवश्यक रहेको बताए ।
त्यस्तै तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले जनतालाई मुस्कान सहितको सेवा दिन अनुरोध गरे । त्यस्तै नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) का केन्द्रीय सचिवालय सदस्य महाकृष्ण पाण्डे, कर्णाली प्रदेश अध्यक्ष देवेश्वर गिरीसहित विभिन्न कर्मचारी संगठनका नेताहरूले अधिवेशनको शुभकामना दिँदै निजामती ऐन छिट्टै आउनुपर्नेमा जोड दिएका छन् ।
यो पनि…
दरबार र माओवादी कांग्रेस सिध्याउन चाहन्थे तर गिरिजाबाबु भने…
नयाँ पुस्ता पनि जातीय विभेदको जालोमा