English

स्थानीय निर्वाचन : को बन्ला बुटवल उपमहानगरको मेयर ?



आगामी स्थानीय तहको निर्वाचनमा बुटवल उपमहानगरपालिकाले सबैको ध्यान तानेको छ । २२ वर्षदेखि उपमहानगरमा कब्जा जमाउँदै आएको एमालेका लागि यो चुनाव प्रतिष्ठाको विषय बनेको छ भने २०४९ सालको स्थानीय चुनावपछि लगातार पराजय व्यहोर्दै आएको कांग्रेस यसपालिको चुनावमा गुमेको साख फर्काउने दाउमा छ ।

लुम्बिनी प्रदेशका १०९ पालिकामध्ये बुटवल उपमहानगरमा एमालेको संगठन बलियो मानिन्छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धन गरेर चुनाव लड्दा पनि एमालेले एक्लै बाजी मारेको थियो ।

बुटवलमा एमालेको संगठन बलियो छ, जुनसुकै गठबन्धन आएपनि एमालेले सहजै चुनाव जित्छ ।

एमाले बुटवल उपमहानगर कमिटीका निवर्तमान अध्यक्ष बाबुराम पन्थी भन्छन्-‘बुटवलमा एमालेको संगठन बलियो छ, जुनसुकै गठबन्धन आएपनि एमालेले सहजै चुनाव जित्छ ।’

तर, उनले भनेझैं यसपालिको निर्वाचन एमालेका लागि त्यति सहज नभएको स्वयं एमालेकै नेताहरू बताउँछन् । एमालेबाट फुटेको एकीकृत समाजवादीका कारण पनि केही मत तलमाथि हुन सक्ने र कांग्रेस, माओवादी र समाजवादीको गठबन्धन हुने सम्भावना रहेकाले एमालेका लागि चुनौती देखिएको कतिपयको तर्क छ ।

एमालेकै एक जिल्लास्तरीय नेता भन्छन्- ‘उम्मेदवार छान्दा विचार पुगेन भने यसपालिको चुनाव एमालेका लागि फलदायी नहुन सक्छ ।’

अघिल्लो निर्वाचनमा एमालेबाट शिवराज सुवेदी नगर प्रमुखमा विजयी भएका थिए । उनले कांग्रेसका खेलराज पाण्डेलाई २४ सय मतान्तरले मात्र पराजित गरेका थिए ।

शिवराज सुवेदी

त्यसबेला माओवादीको करिब ३५ सय मत थपिँदा कम मतको अन्तरमा विजयी भएको र अहिले माओवादीका धेरै नेता कार्यकर्ता नेकपा विभाजनपछि एमालेमा आएको र अहिले एमालेको मत गत निर्वाचनभन्दा धेरै हुने एमाले नेता पन्थीको भनाइ छ ।

तर, हालका मेयर सुवेदीले पाँचवर्षे कार्यकालमा मतदातामाझ राम्रो छाप छोड्न नसकेको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् । मतदातामाझ हालका प्रमुखले काम गरेनन् भन्ने मनोभावना विकास भएको छ, त्यसैले सुवेदीलाई मेयरमा दोहोर्याउने हो भने चुनाव विपक्षीको पोल्टामा जान सक्छ, एमाले नगर कमिटीका एक नेताले भने ।

बुटवल उपमहानगरपालिकाको मेयरका लागि एमाले र कांग्रेसका गरेर १२ जनाले आकांक्षा देखाएका छन् । नगरप्रमुख सुवेदी आफैँ दोहोरिन चाहेका छन् । पार्टी महासचिव शंकर पोखरेलसँग निकट मानिएका कारण पार्टीले उनलाई अगाडि सार्ने सम्भावना पनि छ । त्यस्तै, उपप्रमुख गुमादेवी आचार्यले पनि प्रमुखमा दाबी गरेकी छन् ।

बाबुराम भट्टराई

अघिल्लो चुनावमा दाबेदार रहेका एमाले प्रदेश कमिटी सदस्य बाबुराम भट्टराई र युवा नेता तथा प्रदेश कमिटी सदस्य गोपाल राना पनि मेयरका आकांक्षी छन् । अन्य प्रतिस्पर्धीको तुलनामा यी दुई आकांक्षी चुनाव जित्नका लागि बलिया उम्मेदवार मानिन्छन् ।

गोपाल राना

भट्टराई बौद्धिक व्यक्तित्व भएको र सबै क्षेत्रसँग उनको सन्तुलित भूमिकाका कारण राम्रो प्रभाव देखिएको छ । आफूले टिकट पाए चुनाव जितेर देखाइदिने भट्टराई बताउँछन् । राना भने जनजातिको मत तान्न सक्ने र युवामाझ लोकप्रिय छवि बनाएका कारण बलिया दावेदार हुन् । यी दुईमध्ये एकले टिकट पाए एमालेका लागि चुनाव सहज हुने एमाले युवा नेता ध्रुव आचार्य बताउँछन् ।

अघिल्लोपटक पार्टीका जिल्ला अध्यक्ष रहेका सुवेदीले टिकट पाएकाले यसपालि आफूलाई दिनुपर्ने माग एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले पनि गरेका छन् । जिल्ला अध्यक्षलाई टिकट दिएर एउटा नजीर बसाल्ने हो भने भविष्यमा पनि सहज हुन्छ, उनले भने ।

पार्टी जिल्ला सदस्य तथा क्षेत्रीय संयोजक बाबुराम पन्थीले पनि मेयरका लागि आकांक्षा राखेका छन् । विकासका लागि आफैँ फिल्डमा खटिएर काम गर्न सक्ने र मतदाताको मन सजिलै जित्न सक्ने उनको क्षमता पार्टीले बुझ्न नसकेको कतिपय नेता बताउँछन् ।

खेलराज पाण्डे

कांग्रेसमा भने अघिल्लो निर्वाचनमा पराजित खेलराज पाण्डे दोहोरिने सम्भावना बलियो छ । उनी अहिले पार्टीको बुटवल नगर सभापति छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष रहेका कांग्रेस क्षेत्रीय सभापति हरि लम्सालले पनि मेयरको दाबी गरेका छन् ।

हरि लम्साल

त्यस्तै, कांग्रेसका प्रदेश सदस्य रामबहादुर कार्की, हाल अव्यवस्थित बसोबास आयोगका जिल्ला अध्यक्ष रहिसकेका हरिबहादुर आचार्य क्षेत्री, व्यवसायी सुरेन्द्र श्रेष्ठ, चुन्नुप्रसाद पौडेलले पनि बुटवलमा मेयरको आकांक्षा व्यक्त गरेका छन् ।

रामबहादुर कार्की

बुटवल एमाले उपाध्यक्ष विष्णु पौडेलको गृहनगर रहेको र कांग्रेस नेता बालकृष्ण खाँणले पनि यहाँको चुनावलाई प्रतिष्ठाको विषय बनाएकाले आगामी निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।

यो पनि…
पोखरामा दर्जनौँ आकांक्षी नेतृत्वको होडमा
प्रदेश–१ की एक्ली पालिका अध्यक्ष, जसले संघीयतालाई स्थापित गरिन्



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested