रूसमाथि बेलायतको प्रतिबन्ध घोषणा
बेलायतले रूसमाथि प्रतिबन्ध घोषणा गरेको छ । बेलायतले रूसी तल्लो सदन डुमाका ३८६ सांसदहरूलाई लक्षित गर्दै नयाँ प्रतिबन्ध लगाएको हो । ती सबै सांसदहरूले युक्रेन हमलामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको कदमलाई समर्थन जनाएका थिए ।
उनीहरूलाई बेलायत यात्रा गर्न र बेलायतमा रहेको कुनै पनि सम्पत्तिमा पहुँच राख्न प्रतिबन्ध लगाइएको बेलायतको विदेश मन्त्रालयले जनाएको छ । फेब्रुवरीमा पूर्वी युक्रेनमा बिखन्डनकारीको नियन्त्रणमा रहेको लुहान्स्क र दोनेत्सक क्षेत्रलाई मान्यता दिएका थिए । सो मान्यता रूसी युद्धका लागि बहाना बनेको विदेश मन्त्रालयले जनाएको छ ।
‘हामी युक्रेनमा पुटिनको अवैध आक्रमणमा संलग्न र यस बर्बर युद्धलाई समर्थन गर्नेहरूलाई लक्षित गर्दैछौं,’ विदेशमन्त्री लिज ट्रसले भनिन् । सरकारले बिहीबार चेल्सी फुटबल क्लबका रूसी मालिक रोमन अब्रामोभिचको सम्पत्ति रोक्का गरेको थियो ।
प्रधानमन्त्री बोरिस जोनसनलाई धनाढ्य रूसीहरू विरुद्ध कारबाही गर्न ढिलाइ गरेको र सोभियत संघको पतन पछि लन्डन हुँदै पार भएको रूसी पैसामा आँखा चिम्लिएको आरोप लागेको थियो । रूसी जहाज र विमानलाई यसअघि नै बेलायत सरकारले प्रतिबन्ध लगाइसकेको छ ।
यो पनि…
‘रूस-युक्रेन द्वन्द्वको अर्थ तेस्रो विश्वयुुद्ध’
युक्रेन पछि नहट्ने
रूसले आक्रमण गर्यो युक्रेनका यी शहर