खुसी साटासाट गरी मनाइँदै होली
फागुन शुक्ल अष्टमीको दिन चीर स्वायगु (चीर ठड्याए) सँगै भक्तपुरमा यस वर्षको फागु पर्व शुरू भएको छ ।
वसन्त ऋतुको आगमनसँगै मनाइने फागु पर्व एकआपसमा रङ्ग, अबिर दलेर, आपसका वैरभाव बिर्सेर खुसी साटासाट गर्दै मनाइने पर्व हो । तर, भक्तपुरमा भने यो पर्व मनाउने प्रसङ्ग बेग्लै रहेको छ । काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा रङ्गीविरङ्गी कपडाको ध्वजासहित तीनखण्डे चीर ठड्याएर फागु पर्व शुरू भएको मानिन्छ भने भक्तपुरमा तचपालमा काठको लिङ्ग प्रदर्शनमा राखेर ‘चीर स्वायगु’ गरिन्छ ।
भक्तपुरको तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा भीमसेनको लिङ्गको प्रतीक तीन हात लामो र ३० इन्च गोलाकारको लिङ्ग आकारको काठ प्रदर्शनसँगै शुरू हुने फागुपर्वलाई विशेषगरी यौनरसयुक्त र महिलालाई लक्षित गरी गीत गाउने तथा व्यंङ्गय गर्ने चाडका रूपमा बेग्लै रौनक र तरिकाले मनाइने गरिन्छ ।
पहिला–पहिला लिङ्गको प्रतीक एउटा काठको मुढा मात्र राख्ने परम्परा थियो । पछि यो खुल्ला रूपमा यसरी प्रदर्शनमा ल्याएको हो ।
लिङ्गसँगै यौन समागमको दृश्य झल्कने गरी रातो कपडाको बीचमा प्वाल पारी काठको लिङ्ग प्रवेश गराइएको हुन्छ भने यस दृश्यलाई भीमसेन र द्रौपदीको यौन समागमका रूपमा लिइन्छ ।
मन्दिरभित्र रहने सो लिङ्गलाई फागुपर्वको अवसरमा वर्षको सात दिन प्रदर्शन गर्ने प्रचलन रहेको संस्कृतिकर्मी हरिशरण राजोपाध्यायले जानकारी दिए । ‘पहिला–पहिला लिङ्गको प्रतीक एउटा काठको मुढा मात्र राख्ने परम्परा थियो । पछि यो खुल्ला रूपमा यसरी प्रदर्शनमा ल्याएको हो’, उनले भने ।
यो समय कामदेव आफैँ सक्रिय हुने भएकाले सृष्टिका लागि मानवजीवनमा यो अति उपयुक्त समय हो भन्ने सन्देश यसले दिएको उनको भनाइ छ । ‘चीर स्वायगु’ अर्थात् चीर गाड्ने कार्यलाई शिवशक्ति मिलनको रूपमा लिनुपर्ने संस्कृतिकर्मी राजोपाध्यायले बताए ।
महादेवको ११औँ अवतारमध्ये भीमसेन पनि एउटा रूप हो । त्यस अर्थमा यो प्रदर्शनमा राख्नुलाई महादेव र पार्वतीको प्रतिकका रूपमा पनि लिन सकिन्छ, काठमाडौंमा विभिन्न रङ्गीन कपडासहित चीर ठड्याउँछ, जुन यसैसँग मिल्छ र गोप्य छ, तर भक्तपुरमा भने खुल्ला रूपले प्रदर्शन गरिन्छ ।
भक्तपुरमा खुला प्रदर्शन
‘महादेवको ११औँ अवतारमध्ये भीमसेन पनि एउटा रूप हो । त्यस अर्थमा यो प्रदर्शनमा राख्नुलाई महादेव र पार्वतीको प्रतिकका रूपमा पनि लिन सकिन्छ’, उनले भने, ‘काठमाडौंमा विभिन्न रङ्गीन कपडासहित चीर ठड्याउँछ, जुन यसैसँग मिल्छ र गोप्य छ, तर भक्तपुरमा भने खुल्ला रूपले प्रदर्शन गरिन्छ ।’
लिङ्गलाई प्रदर्शनमा राखिनुअघि दुई जनाले काँधमा बोकेर इनाचो, बाचुटोल, जेँला, जगाती, ब्रम्हायणी, च्याम्हासिंह हुँदै तचपालस्थित दत्तात्रय मन्दिर वरिपरि रहेको घर र पसलमा परिक्रमा गर्ने परम्परा छ ।
घर र पसलमा घुमाउन ल्याएको लिङ्गको पूजाआजा गरी दर्शन गर्नाले व्यापार व्यवसायमा उन्नति प्रगति हुने जनविश्वास छ । त्यसैले, पार्टीमा प्रदर्शनमा राखिएको लिङ्गको दर्शनका लागि फागुपूर्णिमासम्म भक्तजनको घुइँचोसमेत लाग्ने गर्दछ । फागुपूर्णिमाको दिन साँझपख सो लिङ्गलाई एक व्यक्तिले बोकेर ब्रम्हायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनः मन्दिरमा राखेपछि यसवर्षको फागु पर्व सम्पन्न हुने परम्परा छ । यसरी लिङ्ग बोकेर जाने व्यक्तिलाई पुत्रलाभ हुन्छ भन्ने जनश्रुति छ ।
लिङ्ग प्रदर्शनको इतिहास
यसरी लिङ्ग प्रदर्शन गर्ने प्रचलन कहिलेदेखि शुरू भएको हो भन्ने यकिन तथ्य फेला परेको पाइँदैन । यद्यपि, भीमसेनको मन्दिर राजा जगतप्रकाश मल्लले १७औँ शताब्दीमा निर्माण गरेको इतिहास रहेकाले यो प्रचलन पनि सोही समयदेखि प्रचलनमा आएको अनुमान गरिएको छ ।
भक्तपुरको टोलटोलबाट परम्परागत बाँसुरी बाजा, धिमेबाजा बजाउँदैं गीत सङ्गीतसहित महिला–पुरूष एक–अर्कालाई जिस्काउँदै नाचगानसहित फागु पर्व मनाउने गर्दछन् । होलीका नेवारी परम्परागत लोकभाका र गीतसङ्गीत पनि महिला र यौनसँग सम्बन्धित रहेका छन् ।
वसन्त ऋतुको आगमनसँगै बोटबिरूवामा पालुवा पलाउने र जताततै हरियाली देखिन थाल्ने तथा फूलहरू फुल्न थालेसँगै मानिसको मन मस्तिष्क समेतमा एक खालको तरङ्ग पैदा गर्ने भएकाले चञ्चल मन यौनतर्फ आकर्षित हुने संस्कृतिविद्हरूको भनाइ छ ।
होलीया मेला, मय्जु मस्युला ! अविर भचाः नः, तये मज्युला ! ‘होलीको बेला मायालाई थाहा छैन ! , अबिर अलिकति पनि राख्नुहुन्न र ! अर्थको योे गीत नेवारी समाजमा फागु पर्वको चर्चित र सर्वाधिक लोकप्रिय गीत हो ।
नेवारी समुदायमा लोकप्रिय र प्रख्यात यस गीतले फागु अर्थात् होली पर्व महिला लक्षित चाडका रूपमा व्याख्या गर्दछ । त्यसैगरी, झ्या दकंः तुंकंः मा, व हे ल्यासे जित मा, व ल्यासे मदेकः जा हे मनया अर्थात् ‘झ्याल भरी तोरीको माला छ, त्यही तरुनी मलाई चाहिन्छ, त्यो तरुनी नपाएसम्म भातै खान्न’ भन्ने बोलले पनि होली विशेषगरी महिला लक्षित चाडपर्व भएको पुष्टि हुन्छ ।
१७औँ शताब्दीदेखि नै कृषि पेशामा संलग्न उपत्यकावासी वसन्त ऋतुको आगमनसँगै केही फुर्सदिला हुने र मानिस फुर्सदमा मनोरञ्जनतर्फ आकर्षित हुने तर तत्कालीन समयमा मनोरञ्जनको साधन कम भएकाले सुन्दरी युवतीको खोजमा निस्कने परम्पराको विकाससँगै फागुमा बढी यौनरसयुक्त सङ्गीत गुञ्जने गरेको हो’, संस्कृतिकर्मी राजोपाध्यायले भन्नुभयो ।
फागुमा यौन भावयुक्त गीत गाउने प्रचलन भए पनि फागु पर्व अश्लील पर्व भने नभएको उनको भनाइ छ । उनले भने, ‘फागुलाई नितान्त सांस्कृतिक, विशुद्ध मनोरञ्जनपूर्ण र जीवन्त संस्कृतिका रूपमा लिनु पर्दछ ।’
भेदभाव अन्त्यको सन्देश
फागु पर्वले मानिसमा विद्यमान भेदभावको अन्त्यको सन्देश दिने उल्लेख गर्दै संस्कृतिकर्मी राजोपाध्यायले केटाकेटी, युवायुवती, सबै जातजाति फागुको रङ्गमा रङ्गिने र सबैले खुसीको रङ्ग साटासाट गर्ने भएकाले यो चाड समावेशी चाडसमेत भएको बताए ।
युगौंदेखि मनाइँदै आएको हर्ष र उल्लासको पर्व फागुलाई अहिलेका युवापुस्ताले पर्वको महत्व बुझ्न नसक्दा समाजमा फागु पर्व सामाजिक विकृतिका रूपमा देखिन थालेको छ ।
उमेर, लिङ्ग र नाता सम्बन्धमा कुनै बाधा अड्चन नराखी रङ्गी–विरङ्गी रङ्ग एकआपसमा लगाएर वातावरणलाई नै रङ्गमय बनाई बडो हर्साेल्लासका साथ मनाइने फागु पर्वलाई युवा पिँढीले गर्ने उच्छृंखल क्रियाकलापका कारण यो पर्व त्रासको पर्वका रूपमा परिणत भएको संस्कृतिकर्मीहरूको भनाइ छ ।
शाष्त्रको कथा
शास्त्रानुसार ‘हिरण्यकश्यपु’ नामक राक्षसको छोरा प्रल्हाद असाध्यै विष्णुभक्त थिए । उनको विष्णुभक्तिले सारा राक्षसी साम्राज्य नै हल्लिन थालेपछि प्रल्हादलाई मार्न हिरण्यकश्यपुले अनेक हतकण्डा अपनाउँछन् । तर, प्रल्हादलाई केही हुँदैन ।
हिरण्यकश्यपुकी बहिनी होलिकालाई उनको तपस्याबाट प्रशन्न भएर अग्निदेवले आगोले छुन नसक्ने वरदान दिएका थिए । यस्तैमा एक दिन हिरण्यकश्यपुले आफ्नी बहिनी होलिकालाई प्रयोग गरी विष्णुभक्त छोरा प्रल्हादलाई अग्निमा दहन गर्ने योजना बनाउँछन् ।
सो योजनाअनुसार होलिका प्रल्हादलाई काखमा राखी अग्निमा बस्दछिन् । तर, प्रल्हादको सच्चा भक्तिले गर्दा होलिकाको जलेर मृत्यु भएको तर भक्त प्रल्हादलाई आगोले छुन नसकेको खुसियालीमा होली पर्व मनाउन थालिएको कथन छ ।