बालबालिकालाई मोटोपनाको समस्या हुन नदिन ध्यान दिनुपर्ने कुराहरू
अहिले बालबालिकामा मोटोपनाको समस्या नेपालमा एकदमै बढेको छ । यो समस्या कति प्रतिशतले बढ्दो छ भनेर कुनै रिसर्च त भएको छैन । तर पहिलेको तुलनामा आजभोलिका बालबालिकामा यो समस्या बढेको देखिन्छ ।
बालबालिकामा मोटोपनाको समस्या बढ्नुको मुख्य कारण खानपान र शारीरिक गतिविधिको कमी हो । वंशाणुगत कारणले पनि यो समस्या देखिन्छ तर नेपालमा भने वंशाणुगत कारणले मोटोपनाको समस्या देखिनेको सङ्ख्या एकदमै न्यून छ ।
सानैदेखि मोटो भएका बालबालिका ठूलो भएपछि पनि मोटो हुने सम्भावना हुन्छ । मोटो भएकै कारण मधुमेह, मुटुसम्बन्धी रोगहरू लाग्ने हुन्छ ।
दुब्लो हुनु मात्र कुपोषण हैन, मोटो हुनु पनि कुपोषण नै हो । त्यसैले सानैदेखि बालबालिकाको तौल नियन्त्रण गर्नु जरुरी हुन्छ ।
बालबालिका मोटो हुनुको कारण
अहिले बालबालिका खाना खाने बेला धेरै नै टिभी तथा मोबाइलको प्रयोग गर्छन् । जसले गर्दा बच्चाको पूरा ध्यान खानामा केन्द्रित हुँदैन । कति खाइरहेको छु भन्ने कुरा उसलाई थाहा हुँदैन । आँ… गरेर खाको खाई गर्ने हुन्छन् । जसले गर्दा उनीहरूको तौल बढ्छ ।
बालबालिकालाई घरको खानाभन्दा बाहिरको खाना बढी खान दिने चलन छ । अभिभावकले छिटो र सजिलो खानेकुराको रूपमा प्याकेटका खानेकुरा बच्चालाई बढी दिने गर्छन् । जसले गर्दा पनि बच्चाको तौल बढ्ने समस्या धेरै देखिने गर्छ ।
मोटोपना बढ्नुको अर्को प्रमुख कारण भनेको शारीरिक क्रियाकलापमा संलग्न नहुनु पनि हो । आजभोलि बालबालिका कोठामा मात्र सीमित हुन्छन् । ग्याजेटमा बढी समय बिताउँछन् । जसले गर्दा उनीहरूले खाएको खाना राम्ररी पच्न पाउँदैन र शरीरमा बोसो लाग्छ ।
बच्ने उपाय
बालबालिकालाई जङ्क फुडको बानी नै नलगाउनाले जसले गर्दा बालबालिकामा मोटोपनाको समस्या हुने सम्भावना एकदमै न्यून रहन्छ । बच्चालाई जङ्क फुडको बानी परेको खण्डमा उसलाई त्यो नै मिठो लाग्छ घरमा बनाएको खानेकुरा मिठो लाग्दैन । त्यसैले आफू पनि जङ्क फुड नखाने र बच्चालाई पनि जंकफुड खान नदिने बानी गर्नु पर्छ ।
बालबालिकालाई खाना खुवाउँदा मोबाइल तथा टिभी देखाएर खान दिनु हुँदैन । जसले गर्दा बच्चाको ध्यान खानामा मात्र केन्द्रित हुन्छ र बच्चाले आवश्यकता अनुसार मात्र खाना खान्छ ।
आजभोलि बालबालिका घरको कोठामा मात्र सीमित हुन्छन् । मोबाइल तथा भिडियो गेम खेलेर कोठामै बस्छन् । शारीरिक क्रियाकलापमा संलग्न नहुने कारणले पनि बालबालिकामा मोटोपनाको समस्या देखिएको हो । त्यसैले, बालबालिकालाई कम्तीमा पनि दिनको एक घण्टा शारीरिक क्रियाकलापमा संलग्न गराउनुपर्छ ।
बालबालिकालाई घरमै बनेको ताजा खानेकुरा खान दिनुपर्छ । ताजा फलफूल, हरियो सागसब्जी बढी मात्रामा खान दिनुपर्छ । घरमा बनाएको खानेकुराले पेट मात्र भर्दैन प्रशस्त मात्रामा पोषण पनि दिन्छ । जसले गर्दा बच्चा स्वास्थ्य हुन्छ ।
मोटोपनालाई कन्ट्रोल गर्ने तरिका
– ठूलो मान्छे जस्तो डाइटिङ गर्न बालबालिकालाई गाह्रो हुन्छ । त्यसैले, बालबालिकाको मोटोपना कम गर्नको लागि जङ्क फुडको साटो घरमै बनेको खानेकुरा खान दिने ।
– धेरै मात्रामा चिल्लो तथा धेरै मात्रामा चिनी प्रयोग भएको खानेकुरा बालबालिकालाई नदिने ।
– कम क्यालोरी भएको खानेकुरा, ताजा फलफूल र हरियो सागसब्जी खान दिने ।
– शारीरिक क्रियाकलापमा बढी सक्रिय गराउने । आउटडोर गेमहरू खेल्न प्रेरित गर्ने ।
यो पनि…
बिहान ब्रस नगरी पानी पिउँदा के हुन्छ ?
गहिरो निद्राका लागि के-के खाने ?