युक्रेन छाड्नेको संख्या ह्वात्तै बढ्यो
रुसी सेनाले युक्रेनमा हमला गरेको ११औं दिन आज पनि युक्रेनका विभिन्न सहरहरूमा तीव्र हमला भएका छन् । युक्रेनमा रुसी हमलाका कारण दिनहुँ विस्थापित हुनेको संख्या बढ्दो छ । रुसी हमलाका कारण आइतबारसम्म युक्रेन छाड्ने मानिसहरूको संख्या १५ लाख पुग्ने अनुमान गरिएको छ ।
किभले रुसमाथि थप प्रतिबन्ध लगाउन र आफूहरूलाई हतियार उपलब्ध गराउन पश्चिमा देशहरुलाई दबाब दिएको छ ।
रुसी फौजले घेरा हालेका दुई दक्षिणी सहरहरु मारिओपोल र भोलनोभाखामा युद्धबिराम उल्लंघन भएको छ । युद्धबिराम उल्लंघन भएसँगै मस्को र किभले एक अर्कामाथि आरोप–प्रत्यारोप गरेका छन् ।
शनिबार राति एउटा टेलिभिजन सम्बोधनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले कब्जा गरेको क्षेत्रका स्थानीयलाई रुसी सेनाको प्रतिकार गर्न र लड्न आह्वान गरे ।
देशको पुर्ननिर्माण गर्ने वाचा गर्दै उनले भने, ‘हामी बाहिर जानुपर्छ र हाम्रो शहरहरूबाट यो खराबलाई हटाउनै पर्छ ।’ यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूले निशस्त्र र तटस्थ युक्रेन चाहेको बताएका थिए ।
युक्रेनका दुई सहरमा अस्थायी युद्धविराम
रुसले युक्रेनका दुई प्रमुख सहरमा अस्थायी युद्धविराम घोषणा गरेको छ । रुसी सेनाले घेरा हालेका मारिओपो र भोल्नोभाखामा अस्थायी युद्धविराम गरेको रुसको रक्षा मन्त्रालयले पुष्टि गरेको छ ।
रुसको स्थानीय समयअनुसार शनिबार १० बजेबाट आमनागरिकलाई सहर छोड्न सहयोगका लागि अस्थायी युद्धविराम घोषणा गरिएको प्राप्त विवरणहरुमा जनाइएको छ । यसबारे युक्रेनले टिप्पणी गरिसकेको छैन ।
यो पनि…
युक्रेन हमला : कस्तो छ पछिल्लो अपडेट ?
रूसविरोधी देशहरूलाई पुटिनले किन दिए चेतावनी ?