English

चौतारोले फेरिँदै तनहुँसुरकाे परिचय



ऐतिहासिक तनहुँसुर दरबारसम्म पुग्ने खड्गकाली मोटरमार्गको पाँच दशमलव ६ किलोमिटर सडक संघीय सरकार र व्यास नगरपालिकाको लागत साझेदारीमा कालोपत्रे गरिएको छ । सडक कालोपत्रे गर्दा देउराली डाँडाको पश्चिमपट्टी सडकको बीचमा रहेको समीको चौतारीलाई जोगाइएको छ । देउराली डाँडाको पूर्वपट्टी पिपलको चौतारीलाई पनि नफालिकन सडक कोलोपत्रे गरिएको छ ।

सडक कालोपत्रे गर्दा जोगाइएको समीको चौतारीले तनहुँसुरलाई परिचत बनाएको छ । चिल्लो कालोपत्रे सडकको बीचमा रहेको समीको चौतारी यतिबेला सामाजिक सञ्जालमा भाइरल छ । त्यही चौतारीले दैनिक सयौँको संख्यामा आन्तरिक पर्यटकलाई तनहुँसुरमा उकाल्न सफल भएको हो ।

‘प्लेनबाट देखाइदेउ तनहुँसुर
मोटरैमा घुमाइदेउ बन्दीपुर
ए कसम लाम माया छपक्कै…’

गायक प्रेमराजा महतले गायिका अन्जु पन्तसँग गाएको ‘छ माया छपक्कै’ बोलको गीतको यो टुक्कामा तनहुँसुरस्थित देउराली डाँडा नजिकको सडक र समीको चौतारी पृष्ठभूमिमा राखेर टिकटकमा भिडियो अपलोड गर्नेको संख्या बाक्लो छ । प्रेमराजाले अमेरिकाबाट आएर तयार पारेको यो गीतको भिडियो युट्युबको नेपाल ट्रेन्डिङमा पर्दा तनहुँसुर क्षेत्र ओझेलमा थियो । सडक कालोपत्रे सम्पन्न भएपछि अहिले तनहुँका विभिन्न स्थानसँगै छिमेकी जिल्लाबाट पनि आन्तरिक पर्यटक भाइरल सडकको चौतारीमा फोटो र भिडियो खिच्नलाई उक्लिरहेका छन् । सामाजिक सञ्जालमा समीको चौतारी पृष्ठभूमिमा राखेर खिचिएको फोटो, भिडियो छ्यापछ्याप्ती देखिन्छन् हिजोआज ।

इन्जिनियरको डिजाइनअनुसार चौतारी फाल्नुपर्छ भन्ने थियो । तनहुँसुर ऐतिहासिक ठाउँ हो, भएका चौतारीलाई जोगाउनुपर्छ । यसले पर्यटनमा पनि सघाउ पुर्‍याउन सक्छ भन्ने सुझाव स्थानीयले दिएकाले जोगियो । त्यही चौतारी पो भाइरल भइदियो ।

खड्गकाली मोटरमार्ग अन्तर्गत जिल्लाको व्यास नगरपालिका–११ रातमाटादेखि ढाँडखोलेसम्मको सडक कालोपत्रे गर्नलाई संघीय सरकार र व्यास नगरपालिकाले ५०/५० प्रतिशत लागत साझेदारी व्यहोर्ने गरेर बजेट विनियोजन भयो । सडकको डिजाइन गर्ने बेला इन्जिनियरले सुरुमा समी र पिपलको चौतारीलाई फाल्नुपर्ने बताए । स्थानीयवासीले पुर्खाको चिनारी चौतारीलाई जोगाउनुपर्ने सुझाव दिएपछि चौतारीलाई बीचमै पारेर कालोपत्रे गरिएको

सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष सञ्जय श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘इन्जिनियरको डिजाइनअनुसार चौतारी फाल्नुपर्छ भन्ने थियो । तनहुँसुर ऐतिहासिक ठाउँ हो, भएका चौतारीलाई जोगाउनुपर्छ । यसले पर्यटनमा पनि सघाउ पुर्‍याउन सक्छ भन्ने सुझाव स्थानीयले दिएकाले जोगियो । त्यही चौतारी पो भाइरल भइदियो ।’

चौतारी जोगाउँदा यसरी भाइरल बनेर पर्यटक ओइरिने कसैले नसोचेको उनले सुनाए । चौतारीसँगै देउराली डाँडाका कारणले पनि पर्यटकलाई आकर्षित गराएको श्रेष्ठले बताए । ‘चौतारीसँगै देउराली डाँडाबाट चारैतर्फका दृश्यावलोकन गर्न सकिने भएकाले पनि पर्यटकलाई थप आकर्षित बनाएको हो’, उनले भने ।

तनहुँसुरमा ऐतिहासिक दरबार छ । पहिला ओझेलमा परेको थियो । अहिले प्रचार हुन थालेको छ । मुख्यतः भाइरल चौतारीले भूमिका खेल्यो । सडक कालोपत्रे भएपछि आउनलाई पनि सजिलो भयो ।

यसअगाडि तनहुँसुर दरबार आसपासका क्षेत्र पर्यटकीय सम्भावना भएर पनि ओझेलमा थिए । भाइरल चौतारीले तनहुँसुर क्षेत्रको प्रचारप्रसारसँगै पर्यटन प्रवर्द्धनमा सघाएको श्रेष्ठ बताउँछन् । ‘तनहुँसुरमा ऐतिहासिक दरबार छ । पहिला ओझेलमा परेको थियो । अहिले प्रचार हुन थालेको छ । मुख्यतः भाइरल चौतारीले भूमिका खेल्यो । सडक कालोपत्रे भएपछि आउनलाई पनि सजिलो भयो’, उनले सुनाए ।

सडक कालोपत्रे गर्नलाई १० करोड रुपियाँको लागत अनुमान गरेर टेन्डर आह्वान गरिएको थियो । ऋषि शक्ति जेभीले सात करोड ५१ लाख रुपियाँमा ठेक्का लिएर पक्की नाला सहितको सडक कालोपत्र गरेको हो ।

चौतारी भाइरल भएपछि तनहुँसुरमा दैनिक एक हजारसम्म पर्यटक आउन थालेको स्थानीय लक्ष्मण श्रेष्ठले बताए । उनका अनुसार बिदा र शनिबारको दिन पर्यटकको भिड लाग्छ । गाउँमा पर्यटकको ओइरो लाग्दा लक्ष्मण दंग छन् । ‘सबै यहाँ छोडेर दमौली झरेका छन् । केही हुन्छ कि भनेर नै डाँडोमा बसेका थियौँ । ऐतिहासिक ठाउँ भएकाले कुनै दिन पर्यटक आउँछन् भन्ने लागेको थियो । बाटो पिच भएपछि आउन सुरु भयो’, उनले भने ।

तनहुँसुर दरबार आसपासको क्षेत्रमा पूर्वाधार थप भएमा अझै पर्यटक बढ्ने उनको अपेक्षा छ । उनले अगाडि थप्दै भने, ‘पुराना संरचनालाई संरक्षण गर्ने, प्रचारप्रसार गर्न स्थानीय सरकारले सघाइदिने हो भने तनहुँसुरको भविष्य राम्रो देखिन्छ ।’

भाइरल चौतारीलाई आकर्षक बनाउनलाई नवआर्दश टोल कस्सिएको छ । समी र पिपलको चौतारीलाई आकर्षक बनाउन आर्थिक संकलन भइरहेको छ । यस्तै, देउराली डाँडामा अघिल्लो शनिबार मात्र १६ फिटको राष्ट्रिय झण्डा अनावरण गरिएको छ । यहाँ उद्यान बनाउने योजना समेत छ ।

कच्ची सडक भएकाले पनि होला चौतारीमा पर्यटक भरिभराउ हुँदा दरबारसम्म पुगेको पाइँदैन । बाँकी सडक कालोपत्रेका लागि संघीय सरकारसँग बजेट माग गरेका छौँ । सम्भवत बजेट आउनेछ । सडक कालोपत्रे भएपछि दरबार पुग्नेको संख्या पनि बढ्नेछ ।

सडक र चौतारी भाइरल भएर दैनिक सयौँको संख्यामा पर्यटक पुगे पनि नजिकै रहेको तनहुँसुर दरबार अझै ओझेलमा रहेको वडा अध्यक्ष निरबहादुर खड्का बताउँछन् । उनले भाइरल चौतारीसम्म आएका पर्यटकलाई सेनवंशी राजाले शासन गरेको ऐतिहासिक ‘तनहुँसुर दरबार’सम्म पुर्‍याउनलाई वडा र नगरपालिका प्रचारप्रसारमा लागेको बताए । भाइरल चौतारीबाट दरबार करिब साढे दुई किलोमिटरको दूरीमा छ । ‘कच्ची सडक भएकाले पनि होला चौतारीमा पर्यटक भरिभराउ हुँदा दरबारसम्म पुगेको पाइँदैन । बाँकी सडक कालोपत्रेका लागि संघीय सरकारसँग बजेट माग गरेका छौँ । सम्भवत बजेट आउनेछ । सडक कालोपत्रे भएपछि दरबार पुग्नेको संख्या पनि बढ्नेछ ,’ उनले भने ।

वडा अध्यक्ष खड्काका अनुसार पुरातत्व विभागले तनहुँसुर दरबार क्षेत्रमा उत्खनन गरेर भग्नावशेष संरचना फेला पारेको छ । दरबार परिसरमा रहेको खड्गकालिका मन्दिरसमेत पुरातत्व विभागले पुनर्निर्माण गरेको वडा अध्यक्ष खड्काले जानकारी दिए ।

यो पनि…
प्रचार-प्रसारको अभावले ओझेलमा बराह ताल
बेथानचोकको पर्यटकीयस्थल ‘गजराम थुम्का’



सम्बन्धित खबरहरु

विभिन्न समुदायको जन्मदेखि मृत्य संस्कारमा प्रयोग हुने माटाको भाडाका लागि प्रसिद्ध छ– भक्तपुरस्थित पोटरी स्क्वायर । जब दसैं, तिहार, छठजस्ता

काठमाडौं, भदौ २ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सोलुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा वैकल्पिक व्यवस्था गरी तत्काल

बेलायतमा नेपालको पर्यटन प्रवर्द्धन हेतु वर्षेनी हुँदै आएको ‘हाइक फर नेपाल’ यसपटक पनि आयोजना गरियो । पोखरेली मञ्च यूकेले सधै

भजनी, कैलालीमा छन्, गुलेली बाजे । उमेरले ८८ वर्ष । कुनै बेला यस्तो पनि थियो जतिबेला उनी गुलेली लिएर शिकारमा