पशुपतिनाथ योगिका योगी महायोगी
शिवकै रूप भगवान् श्री पशुपतिनाथ वागमती नदी, श्लेष्मान्तक वनले सुशोभित भई नेपालमा विराजित छन् । लिच्छवी कालदेखि नै भगवान् श्री पशुपतिनाथ विराजित हुने क्षेत्रलाई पाशुपत क्षेत्र भनि उल्लेख गरेको पाइन्छ १ विष्णु, ब्रह्मा आदि सबै देवताबाट पूजित भगवान् श्री पशुपतिनाथका बारेमा लेख्न कठिन छ ।
भगवान् श्री पशुपतिनाथका सम्बन्धमा आफ्ना भावहरू, सापटी लिएका कुराहरू पस्किँदै जाउँला तर नेपालको सबैभन्दा पुरानो गोपाल वंशावलीमा ई.पू. ३०० वर्ष अगाडि राजा भएका थिए, सुपुष्पदेव यो भूगोलको ।
वि.सं. ७९० को जयदेव द्वितीयको अभिलेखबाट मानदेव प्रथम भन्दा ३९ पूस्ता अगाडि राजा सुपुष्पदेवले नेपालमा शासन गरेको देखिन्छ ।
त्यसभन्दा अगाडि नै भगवान् श्री पशुपतिनाथ पाशुपत क्षेत्रमा त्यही स्थानमा महाज्योर्तिलिङ्गको रूपमा विराजित भएको सुनको छाना र गजुरयुक्त मन्दिर राजा सुपुष्पदेवले बनाइदिएको भन्ने इतिहासकारहरूको राय छ ।
भगवान् कृष्ण यो पशुपतिको भुमिमा आई भगवानको आराधना गर्दा उनका साथमा रहेका गोठाला र गाईहरू सँगै आएका थिए । एक गाईले नित्य आज जहाँ शिवलिङ्ग छ त्यसमा दूध आपसेआप दिने गर्थिन् ।
एकजना ग्वालाले गाईले किन दूध दिई रहेको छैन भनी चियो गर्यो । उसले देख्यो गाईले सो स्थानमा दूध दिइरहेको । त्यो स्थान खोतली हेर्दा त्यसको ज्वालाबाट भष्म भएको कहावत छ । यसले के बुझिन्छ भने महाभारतकालीन युगभन्दा अगाडि नै पशुपतिनाथ सो स्थानमा महाज्योर्तिलिङ्गको रूपमा पुष्टि भएको अनुमान गर्न सकिन्छ ।
वि.सं. १४०६ मा मार्ग शुक्ल नवमीका दिन बंगालका सुल्तान समसुद्दिन इलियासले पशुपति क्षेत्र र पशुपतिनाथमा आक्रमण गरे । पशुपतिनाथको जो शिवलिङ्ग कालो वर्णको शालिग्रामबाट बनेको जस्तो देखिन्छ आक्रमणपछि वि.सं. १४१७ मा जयरामसिंह वद्र्धनले बनाउन लगाएका हुन् ।
विभिन्न कालखण्डमा पशुपतिनाथ मन्दिरको जिर्णाेद्वार हुँदै आए पनि राजा भूपालेन्द्र मल्ल र उनका आमा ऋद्धिलक्ष्मीले कार्तिक महिनामा पुनर्निर्माण सुरू गरी वि.सं. १७५३ सालमा काम सम्पन्न भएको ऐतिहासिक अभिलेखमा पाइन्छ ।
विश्वका प्राणीहरूका आराध्यदेव भगवान् श्री पशुपतिनाथको शिवलिङ्ग ६ मुखे छ । आमरूपमा जनमासनमा पाँच मुखको मात्र चर्चा भएको देखिन्छ । ६ मुखमा पूर्वमुख तत्पुरूष (वायुतत्व, महादेवको प्रतिक, दक्षिण मुख अघोरतत्व भैरव प्रतिक, पश्चिम मुख सद्योजात, पृथ्वीतत्व नन्दीको प्रतीक, उत्तरमुख वामदेव जलतत्व, उमाका अर्धनारिश्वरको प्रतिक, माथितिरको तालुलाई ईशानमुख, आकृतिविहीन आकाशतत्व सदाशिवको प्रतीक र छैठौँ लिङ्गको मून्तिरको भागलाई कालाग्नि रूद्र भनिन्छ ।
हाम्रा वैदिक सनातनी धर्मावलम्बीहरू भारतको चार धामको यात्रमा जाने कुरा भारतको एकीकरण हुनुभन्दा अगाडिदेखि नै हो । भगवान् श्री पशुपतिनाथलाई भारतमा रहेका चारधामको रूपमा बुझिने बद्रीकेदार, द्वारिकाधीश, रामेश्वरम् र जगन्नाथलाई एकीकृतरूपको रूपमा भगवान् श्री पशुपतिनाथलाई मान्ने शास्त्रीय मत छ । ईसान–सदाशिव पूर्वमुख जगन्नाथ (भारतको उडिसा राज्यकोपुरी) दक्षिण–रामेश्वरम तामिलनाडु, पश्चिम द्वारिकाधीस (गुजरात), उत्तरमुख बद्रिकेदार (उत्तराखण्ड राज्य) को समिष्ट रूप नै भगवान् श्री पशुपतिनाथ हुन् ।
भारतको उत्तराखण्डमा रहेको केदारनाथका शिरोभागको रूपमा भगवान् श्री पशुपतिनाथलाई बुझ्नेहरू पनि छन् । सवैको सम्पूर्णता, सबै देवदेवताका इष्टदेवता देवाधिदेव महादेव नै भगवान् श्री पशुपतिनाथ हुन् । उनै श्रृष्टिकर्ता हुन्, पालनकर्ता हुन्, उनै संहारकर्ता हुन् । विष्णु र शिवमा भेद छैन । विभिन्न मतालम्बीहरूको आ–आफ्नो इष्टदेवता भए पनि शिवमा सबकै समाहित छन् । दार्शनिकहरू भन्छन् पशुपति भन्नाले पासबाट मुक्ति हो । प्रकृतिभन्दा माथि माया त्यसमाथि महामाया, त्यसमाथि चिति, त्यसदेखि माथि पराशक्तिहरू छन् । प्राकृतिक अवस्था पार गरी, माया पनि पार गरी, महामायाको क्षेत्रमा प्रवेश गर्नेबित्तिकै सबै जना पशुपति बन्छन् नरबाट नारायण बनेझैँ ।
तर, भगवान् श्री पशुपतिनाथ हुन सकेका हुँदैन । स्वर्गीय प्रोफेसर विदुर पौडेल नेपालका धार्मिक क्षेत्रका प्रकाण्ड विद्वान् हुन् । उनको प्रकाशित कृति पुख्र्यौली कृति अनुसार ‘पशुपतिका ६ मुख ६ आम्नाय निस्कन्छ । पूर्वमुखबाट सृष्टि मन्त्रयोग भुवेश्वर्यादी । दक्षिण मुखबाट भक्तियोग, दक्षिणकाली, निशिश्वर्यादी, पश्चि मुखबाट प्रलय कर्मयोग कुब्जिकादि । उत्तरमुखबाट अनाख्या ज्ञानयोग गुह्यकाल्यादि, अधोमुखबाट विश्रान्ति शब्दयोग आर्यतारा आदि । ईशान ऊध्र्व मुखबाट मोक्ष विज्ञानयोग त्रिपुरासुन्दरी आदि र पूर्वबाट ओम्कारादि बीजाक्षरहरूको प्रादुर्भाव हुन्छ ।
पशुपतिनाथ विभिन्न देशमा स्थापित भए पनि मूल पशुपतिनाथ नेपालमै छन् । भारतका १२ ठाउँमा रहेका शिवलिङ्ग ज्योर्तिलिङ्ग हुन् भने भगवान् श्री पशुपतिनाथ महाज्योर्तिलिङ्ग हुन् । फेरि, विदुर पौडेलले माथि उल्लेख गरेकै कृतिमा जान मनलाग्यो ‘घृणा, शङ्का, भय, लज्जा, जुगुप्सा, चेती, पञ्चमी । कुलं शिलं च जातिश्च अष्टौ पाशा प्रकीर्तिता ।’ यी सबैलाई पास भनिन्छ ।
मायादेखि माहामायाको क्षेत्रमा प्रवेश गरेका सवैलाई पशुपति भनिन्छ । श्री प्राकृत सृष्टिभित्र पर्दैन । महामाया भन्दा पनि चितिशक्ती त्यस भन्दा माथि पर पराशक्ती छन् । यतिसम्मको प्रत्येक योनी अर्थात् अर्घा हो र त्यो भन्दा पर महाचैतन्य छ । त्यसैलाई पशुपतिनाथ भनिन्छ । त्यसको प्रतीक लिङ्ग हो । कल्पित पराशक्तिको उदयले महाचैतन्य नै लिङ्गको रूपमा कल्पित हो । वस्तुतः महेश्वर अलिङ्ग छन् । योनीको पिठमाथि लिङ्ग विराजित हुन्छ ।
भगवान् श्री पशुपतिनाथ सम्पूर्ण दिव्यशक्तिको अघिष्ठान हुन् । महाशक्ति र पशुपतिनाथमा भेद छैन । त्यसैले, ईशानमा श्री यन्त्र बनाई राजराजेश्वरी महात्रिपुरासुन्दरीको गोप्य पूजा गर्छन् पशुपतिका मूल भट्टले । त्यतिखेर मूल भट्टबाहेक अन्य सबै भट्टहरू मन्दिर बाहिर निस्कुनपर्छ । एउटा चाखलाग्दो मेरो मनमा उठेका सवाल पनि छन् । प्रत्येक शिव मन्दिरहरूमा नन्दीलाई द्वारमा राखिएको हुन्छ । तर, पशुपतिनाथ नन्दी अगाडि चारै मुखको ढोकामा सिंहहरू प्रतीक रूपमा राखिएको छ । सिंह शक्तिको वाहन हुन् ।
यस प्रकारको सिंह राख्ने कार्य शिव मन्दिरमा कहीँ भेटिँदैन । लाग्छ शिव र शक्ति एकै हुन शक्ति विनाको शिव शव हुन । शिव र शक्तिको समष्टि रूप नै पशुपतिनाथ भएकोले यसो गरेको होकि जस्तो लाग्छ । शास्त्रमा हो कि होइन । किन राखियो ? त्यो शास्त्रीय विद्हरूलाई थाहा होला । समान्य यो मेरो जिज्ञासा मात्र हो ।
शैव दर्शनमा शिवलाई प्रकाश र शक्तिलाई विर्मश मानिन्छ । लिङ्ग पूजन इस्लाम, क्रिस्चियन धर्म जन्म हुनुभन्दा अगाडी धेरै सताब्दी अगाडी देखि भएको हो । नेपालमा भगवान श्री पशुपतिनाथलाई राष्ट्रदेवको रूपमा पूजिने गरिन्छ । बुद्धको रूपमा भगवान श्री पशुपतिनाथलाई मान्ने मत पनि छ । पशुपास पशुपतिका सम्बन्धमा वस्तुको तिनभेद छन् । जड ९प्रकृति० चेतन ९जिव० र दुवैको नियन्ता परमेश्वर । परमेश्वर नै भगवान श्री पशुपतिनाथ हुन् । धार्मिक तत्वज्ञानीहरू पशुपास र पशुपतिलाई नर र अक्षरको रूपमा व्याख्या गर्छन् ।
अक्षरलाई पशु भन्ने हामी प्राणी, क्षर तत्वको नाम ‘पास’ हो । क्षर र अक्षर दुवैबाट पर परमतत्व छन् । उनैलाई पशुपति भनिन्छ । प्रकृति क्षर हो जीव अक्षर हो । दुवै तत्वबाट भिन्न परमेश्वर हुन् र परमेश्वर नै भगवान् पशुपति हुन भन्ने गरेको पनि पाइन्छ । अर्काेतर्फ ब्रह्मा र विष्णुबीचको ठूलो भन्ने सवालमा झगडा भएपछि भगवान् शिवले महाज्योर्तिलिङ्ग रूप धारण गरी विवाद साम्य गरेको र सो महाज्योर्तिलिङ्ग नै पशुपतिनाथ हुन पनि मतहरू रहेको पनि देखिन्छ ।
महादिव्य शक्ति र भगवान् पशुपतिनाथमा भेद नरहेकोले योनी र लिङ्ग अखण्ड हुन । भगवान् श्री पशुपतिनाथ भौतिक जीवन र चेतनात्मक जीवन दुवैको आराध्यदेव हुन् । योगीका योगी महायोगी, प्रथम गुरू, आदि अनादी, निर्विकार, निरञ्जन, सबैको कल्याणकारक भगवान् श्री पशुपतिनाथको बारेमा आउनै लागेको महाशिवरात्रिको अवसरमा अल्पज्ञानीले लेखेको आलेख हो भनी बुझिदिन अनुरोध छ ।
यो पनि…
समीक्षा : जिउने कला र आत्ममार्गका लागि
म र मेरो मध्यमवर्गीय भ्रमको आलाप