समयमा उपचार गरे हुन पाउँदैन कलेजोको दीर्घरोग
सामान्य लक्षणमा उपचार नगर्दा कलेजोको दीर्घरोग हुने गरेको चिकित्सकले बताएका छन् । सुरुआती चरणका लक्षणलाई बेवास्ता गर्दा पछि गम्भीर समस्या आउने गरेको उनीहरूको भनाइ छ ।
भरतपुर अस्पतालका हेपाटोलोजिष्ट डा.रुपेश श्रेष्ठ कलेजो रोगका सामान्य लक्षण देखिने वित्तिकै उपचार गर्ने हो भने गम्भीर समस्या आउनबाट रोक्न सकिने बताउँछन् । ठूलो समस्या आइसकेपछि मात्रै उपचार गर्न आउँने हुँदा समय, खर्च र दुःख बढी हुने गरेको उनको भनाइ छ ।
नेपालमा कलेजो रोगको विषयको ज्ञान भएका कमै चिकित्सक रहेका छन् । यसै विषयमा डिएम गरेका श्रेष्ठले नेपालमा नौ जनाले मात्रै हेपाटोलोजिमा डिएम गरेका चिकित्सक रहेको जानकारी दिए । वीर अस्पतालबाट डिएम सकेपछि छात्रावृत्ति करारमा यहाँ आउएका श्रेष्ठले आम नागरिकलाई रोगका लक्षण देखिएमा समयमै उपचार गर्न सुझाव दिएका छन् ।
बिहान बेलुकाको समयमा मौलाकालिका अस्पतालमा सेवा दिँदै आएका उनले भने, ‘सामान्य लक्षणलाई बेवास्ता गर्दा कलेजोको दीर्घरोग झेल्नुपर्ने अवस्था आउने गरेको छ ।’ उनले थपे, ‘कलेजो रोग लागेपछि लक्षण देखिएकै हुन्छन् । तर हल्का रूपमा लिँदा पछि गम्भीर बन्न सक्छ ।’ उनले अगाडि भने, ‘बिरामीले सुरुकै अवस्थामा गम्भीर रूपमा नलिँदाको परिणाम कलेजोको दीर्घरोग हुन्छ ।’
कलेजो रोगबाट बच्नका लागि पोषिलो खानेकुरा खानुपर्छ । सामान्यतया हाम्रो भान्सामा पाक्ने माछा, मासु, अण्डा, गेडागुडी, सागसब्जी, फलफूल, दाल भात तरकारी सबै खान सकिन्छ । यस्ता खानेकुराले नै कलेजोलाई बलियो बनाउँछ ।
सामान्य भाषामा भन्नु पर्दा जण्डिस् (पहेँलो रोग) लागेर आँखा, शरीर पहेँलो हुने, खान मन नलाग्ने, थकाई लाग्ने, आलस्यता हुने कलेजो रोगका मुख्य लक्षण भएको उनको भनाइ छ । कलेजो रोग दीर्घरोगमा परिणत भइसकेको छ भने पेटमा पानी जम्ने, पेट फुल्ने, खुट्टा सुन्निने, रगत छाद्ने, बेहोस् हुने, अनुहारको रङ्ग कालो हुँदै जाने, खान मन नलाग्ने जस्ता लक्षण देखिने गरेको श्रेष्ठले बताए ।
कलेजो रोगबाट बच्नका लागि खानपिनमा विशेष ध्यान पुर्याउनुपर्ने बताउँदै उनले भने, ‘पोषिलो खानेकुरा खानुपर्छ । सामान्यतया हाम्रो भान्सामा पाक्ने माछा, मासु, अण्डा, गेडागुडी, सागसब्जी, फलफूल, दाल भात तरकारी सबै खान सकिन्छ । यस्ता खानेकुराले नै कलेजोलाई बलियो बनाउँछ ।’
धूमपान, मद्यपान, लागुपदार्थ जस्ता वस्तुले कलेजोलाई हानी गर्ने भन्दै उनले भने, ‘कलेजो रोगका बिरामीले यस्ता वस्तु बार्नैपर्छ, अर्थात् खानै हुँदैन । यी वस्तुको सेवनले कलेजोको दीर्घरोग बनाउँछ ।’
मादक पदार्थको सेवनले ‘अल्कोहलिक लिवर डिजिज’ बनाउने र पछि गएर सिरोसिस (कलेजोले कामै नगर्ने अवस्था) बन्ने श्रेष्ठको भनाइ छ । यस्तो अवस्थामा कलेजो प्रत्यारोपणको विकल्प नहुने श्रेष्ठको भनाइ छ ।
कलेजो रोग दीर्घरोगमा परिणत भइसकेको छ भने पेटमा पानी जम्ने, पेट फुल्ने, खुट्टा सुन्निने, रगत छाद्ने, बेहोस् हुने, अनुहारको रङ्ग कालो हुँदै जाने, खान मन नलाग्ने जस्ता लक्षण देखिन्छन् ।
बालबालिकामा पनि कलेजो रोग हुने भन्दै उनले अगाडि भने, ‘जण्डिसका कारणले, जन्मजात पनि बालबालिकामा कलेजो रोग हुनसक्छ ।’ बुढ्यौली उमेरमा धेरैजसो मादक पदार्थले गर्दा नै कलेजो बिग्रिने चिकित्सकको भनाइ छ ।
कतिपयमा कलेजोको क्यान्सरसमेत हुन्छ । मादक पदार्थ सेवा नगर्नेमा पनि कलेजोको सिरोसिस हुनसक्नेतर्फ उनले सचेत गराए । उनले भने, ‘त्यसलाई हामी नन अल्कोहलिक फ्याटीलिवर डिजिज भन्दछौं । जाँड, रक्सी नखाने मानिस तर कलेजोमा बोसो जमेर सिरोसिस हुनसक्छ ।’
मोटोपन, मधुमेह, उच्च रक्तचाप भएका, कोलेस्ट्रोलको मात्रा बढी भएकोमा पनि कलेजोको रोग देखिन सक्ने उनको भनाइ छ । समय समयमा कलेजो विशेषज्ञलाई परीक्षण गराएर आफ्नो कलेजोको अवस्थाबारे जानकारी लिइरहनु राम्रो हुने चिकित्सकको सुझाव छ ।