दशकदेखि पुल अलपत्र, खोला तर्न पैसा तिर्नुपर्ने
हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज र झापा गाउँपालिका जोड्ने माई नदीको पुल एक दशकदेखि अलपत्र छ । ३१ जेठ २०६८ मा चार वर्षभित्र सक्ने सर्तसहित पप्पु कन्स्ट्रक्सन र महादेव खिम्ती जेभीले ठेक्का लिएको माई पुल एक दशकदेखि अलपत्र अवस्थामा छ ।
२०७२ जेठ मसान्तमा सक्ने गरी ३४ करोडमा ठेक्का लगाइएको छ । पुल ७ सय २४ मिटर लम्बाइको छ । पुल समयमा निर्माण नहुँदा बर्खामा डुंगा र हिउँदमा बाँसको पुलमा यात्रा गर्न बाध्य छन् स्थानीय । खोला तरेबापत पैसा तिर्नुपर्ने बाध्यता स्थानीयलाई छ । यो बाटो भएर दैनिक एक हजार बढी मानिस आवत-जावत गर्दै आएका छन् ।
गत वर्षसम्म हिउँदमा बाँसको पुल लगाइने गरिएको थियो । स्थानीय ईश्वर माझी र उनका भाइ विपीन माझीले बर्खामा डुंगा र हिउँदमा बाँसको पुल लगाउँदै आएका छन् । यसपटक भने मध्यहिउँदमा पनि डुंगाकै भरमा नदी तर्नुपर्ने बाध्यता छ । जसकारण मोटरसाइलक आवत-जावत गर्न निकै मुस्किल छ । डुंगमा चढाएर पार गर्दा दुई सय रुपैयाँसम्म लाग्ने गरेको छ ।
पुल समयमा निर्माण नहुँदा बर्खामा डुंगा र हिउँदमा बाँसको पुलमा यात्रा गर्न बाध्य छन् स्थानीय । खोला तरेबापत पैसा तिर्नुपर्ने बाध्यता स्थानीयलाई छ । यो बाटो भएर दैनिक एक हजार बढी मानिस आवत-जावत गर्दै आएका छन् ।
यसपटक हुलाकी राजमार्ग निर्माण गर्दै आएको निर्माण कम्पनी मोतिदानले नदी वारपारका लागि अस्थायी पुल निर्माण गर्ने बताएपछि ईश्वर र विपीनले यसपटक बाँसको पुल लगाएनन्, जसको मार स्थानीयले खेप्नु परेको छ । ‘पहिला त बाँसको पुल हुँदा धेरै सजिलो थियो । अहिले त हिउँदमा पनि डुंगाकै भरमा हिँड्नुपर्छ,’ सञ्जय राजवंशी भन्छन्, ‘बाँसको पुलमा भएको भए मोटरसाइकल पनि अलिक सहजै वारपार गर्न सकिन्थ्यो । डुंगामा त धेरै गाह्रो हुन्छ ।’
यसपटक सडक निर्माण कम्पनीले नदीमा अस्थायी पुल लगाउने भनेकाले आफूहरूले बाँसको पुल नलगाएको विपीन बताउँछन् । ‘बाटो बनाउनेले अस्थायी पुल लगाउँछु बाँसको पुल नलगाउनु भने । त्यही भएर यसपटक बाँसको पुल लगाइएन । तर निर्माण कम्पनीले पनि अहिलेसम्म पुल लगाएको छैन,’ उनी भन्छन्, ‘नाउविना मान्छे र बाइक तार्न पनि सकिँदैन । नाउका लागि पानी कम हुँदा वारपार नाउ तार्न पनि समस्या छ । यसपटक साह्रै समस्या भयो ।’
यो पनि
जब तमोर तरेर पुग्यो गाडी