घरमा आगलागी हुँदा गम्भीर घाइते
आगलागीमा जल्दा खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका-३ छोरम्बु गारापुकी ४५ वर्षीय मैयाँ खत्री गम्भीर घाइते भएकी छन् । विद्युत सर्ट भएर घरमा आगलागी हुँदा खत्री गम्भीर घाइते भएकी हुन् ।
आगलागी भइरहेको घरबाट सामान झिक्नेक्रममा खत्रीलाई पोलेको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।
ज्वालाले भेट्दा अनुहार, हातलगायतका ठाउँमा जलेका खत्रीलाई उपचारका लागि गाउँपालिका अध्यक्ष राईले प्रयोग गरिरहेको गाडीमा हालेर विराटनगर पठाइएको छ ।
उनका श्रीमान अगमबहादुर खत्रीलाई गत २ असोजमा टुवा खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको थियो ।
खत्री दम्पत्तीका दुई छोरा रोजगारीका सिलसिलामा घर बाहिर छन् । श्रीमानको मृत्यु भएपछि उनी घरमा एक्लै बस्दै आएकी थिइन् । घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।