संयुक्तता
म आशाको विम्ब भएर रहन चाहन्छु
त्यो गोठका ओसिलो जीवनहरूमा
ती ओठका बोझिला कलेटीहरूमा
तिमीले धैर्य बाँड्न नभुल्नू ।
म माटोको लप्का भएर भरिन चाहन्छु
खडेरीले उप्केका खाडलहरूमा
तिमी मौसमी वर्षातमा बर्सनु ।
जब गोठहरूको विम्ब टल्किन्छ
ओठहरूमा हाँसो झल्किन्छ
म आकाशको जून चुमिरहन्छु
तिमी धर्तीको फूलहरूमा झुमिरहनू
तर, नभुल्नु हामीले मनाएको यो खुसीसँगै,
हामी त्यही जीवनहरूको श्वासमा बाँचेका हुनेछौं
जहाँ अभावले पिल्सिएका भोकहरू हुनेछन्
अज्ञानताले मिचिएका रोगहरू हुनेछन्
म तिनै अभावहरू हटाउने औजार हुन चाहन्छु
तिमी रोगहरूको माखा धपाउन नभुल्नू ।
यो पनि
खसी
अहिलेको साहित्य पुरस्कार र सेलिब्रेटी बन्ने दौडमा छ
एकल आमा–२