English

पर्यटकको रोजाइमा ‘खस’ सभ्यता



विजय रावत ।

खस नेपाली भाषाको जन्मथलो जुम्लाको सिञ्जा सभ्यता पछिल्लो समयमा पर्यटनको रोजाइमा पर्न थालेको छ । यहाँको आठ स्थानीय तहमध्ये तीन स्थानीय तह सिञ्जा क्षेत्रमा पर्छन् ।

स्थानीय सरकारले खस सभ्यताबारे कुनै गुरुयोजना पारित गरेको छैन । संघीय सरकारले भने सिञ्जालाई पर्यटनको सूचीमा समावेश गरेको छ ।
हालै काठमाडौंबाट जुम्ला पुगेका १० जनाको समूह हिमा गाउँपालिकामा रहेको काठेपुलमा रमाइरहेका थिए, उनीहरू काठेपुलमा कुँदिएका चित्रको अवलोकन गरिरहेका थिए । त्यहीँ समूहमा थिए, प्राध्यापक कवि पोखरेल । खस सभ्यताको उद्गम थलोमा परम्परागत सीप झल्काउने सम्पदा देख्न पाएपछि नेपाली हुनुमा गर्वको महसुस भएको पोखरेलले बताए ।

काठेपुलको किनारमा मूर्ति निर्माणकर्ता कालो तिरुवाको नाम लेखिएको छ । नेपाली भाषाको उद्गम थलोमा परम्परागत सीपबाट निर्मित काठेपुल यहाँ पुग्ने पर्यटकका लागि आकर्षणको केन्द्र हो । स्थानीयवासी धर्मेन्द्र अधिकारीका अनुसार नाग्म–गमगढी सडकखण्ड नजिकैको यो काठेपुलमा रारा र सिञ्जा घुम्न आउने सबैजसो पर्यटकले अवलोकन गर्छन् ।

जुम्लाका साना तथा मझौला नदी पार गर्न बनाइएका काठेपुल केवल आवतजावतका माध्यम मात्र होइनन्, यिनले यहाँको सभ्यता, कला र संस्कृति पनि बोकेका छन् ।

जुम्लाका साना तथा मझौला नदी पार गर्न बनाइएका काठेपुल केवल आवतजावतका माध्यम मात्र होइनन्, यिनले यहाँको सभ्यता, कला र संस्कृति पनि बोकेका छन् । नेपाली भाषाको जननीभूमि जुम्लाको सिञ्जा क्षेत्रको आफ्नै इतिहास छ । बाइसे र चौबीसे राज्यको पालामा जुम्लाको खस राज्य शक्तिशाली राज्यका रूपमा भएको इतिहासमा पनि उल्लेख भएको पाइन्छ ।

नेपाली खस भाषा र सभ्यताको उद्गम थलो सिञ्जा क्षेत्र ऐतिहासिक दृष्टिले सम्भावनायुक्त क्षेत्र हो । रारा जाने पर्यटकका लागि छुटाउनै नहुने गन्तव्य पनि हो, सिञ्जा सभ्यता । तर, सरकारको उदासिनताका कारण सिञ्जा सभ्यता संकटमा पर्दै गएको छ । यहाँका शिलालेख, ऐतिहासिकस्थल, पाण्डव गुफा, विराट दरबार, कनकासुन्दरी मन्दिरलगायत ढुङ्गाले कुँदिएका विभिन्न आकृतिले पर्यटकको मन लोभ्याउँछन् ।
पाण्डव गुफाभित्र पाँच भाई पाण्डव र द्रौपदीका मूर्ति छन् । पाण्डवले गुफाबाहिर बनाएको ढुङ्गाको ढोका भने अहिले भत्किएको स्थानीयवासी लीलाराज सञ्ज्यालले बताए । पछिल्लो समय खस भाषा, यहाँका कला, सीप र परम्परागत पहिरन लोप हुँदै छन् भने अर्कोतिर ऐतिहासिक मठ मन्दिर, ढुङ्गाका देवल पनि जीर्ण बन्दै गएका हुन् ।

इतिहासमा उल्लेख भएअनुसार खस राजा नागराज र उनका उत्तराधिकारीले सिञ्जा नगरमा करीब ३ सय वर्षसम्म शासन गरेका थिए । त्यस अवधिमा सिञ्जा क्षेत्र राजधानी मात्र होइन, एक चर्चित सभ्यताका रूपमा विकास भएको इतिहास छ ।

कर्णाली प्रदेश राजधानी सुर्खेतदेखि सिञ्जा हुँदै मुगुको रारातालसम्म सडक जोडिएपछि पछिल्ला वर्षमा पर्यटकको आगमन पनि बाक्लिएको स्थानीयवासी हरिकृष्ण भट्टले जनाए । चहलपहल बढेसँगै सडक आसपासका बासिन्दाको आम्दानीको बाटो पनि खुलेको छ । यहाँका व्यापार व्यवसाय चल्न थालेका छन् ।

कर्णालीका सम्भावनालाई कुल्चेर सधैँ पिछडिएको दृष्टिले हेर्नु राज्यको कमजोरी भएको स्थानीयवासी बताउँछन् । सिञ्जा गाउँपालिकाले अहिले खस सङ्ग्रहालय निर्माण गरिरहेको छ । गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलका अनुसार सिञ्जा क्षेत्रको इतिहासलाई संरक्षण गर्न सङ्ग्रहालयको स्थापना गर्न लागिएको हो । रासस



सम्बन्धित खबरहरु

विभिन्न समुदायको जन्मदेखि मृत्य संस्कारमा प्रयोग हुने माटाको भाडाका लागि प्रसिद्ध छ– भक्तपुरस्थित पोटरी स्क्वायर । जब दसैं, तिहार, छठजस्ता

काठमाडौं, भदौ २ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सोलुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा वैकल्पिक व्यवस्था गरी तत्काल

बेलायतमा नेपालको पर्यटन प्रवर्द्धन हेतु वर्षेनी हुँदै आएको ‘हाइक फर नेपाल’ यसपटक पनि आयोजना गरियो । पोखरेली मञ्च यूकेले सधै

भजनी, कैलालीमा छन्, गुलेली बाजे । उमेरले ८८ वर्ष । कुनै बेला यस्तो पनि थियो जतिबेला उनी गुलेली लिएर शिकारमा