किन पाएन ‘फलफूलको राजा’ किवीले बजार ?
फलफूलको राजा उपनामले परिचित फल किवीले अहिले बजार पाउन सकिरहेकाे छैन । बजार अभावका कारण उत्पादित किवीले अपेक्षाकृत मूल्य नपाउँदा किसान निराश बनेका छन् । सुरुमा धेरै राम्रो मूल्य आएकाले सोहीअनुसार मूल्य पाउने आसले खेती गरेका किसानले किवी फल पाक्ने बेलामा बजारकाे समस्यामा परेका छन् ।
ताप्लेजुङसहित पूर्वका अधिकांश पहाडी तथा हिमाली जिल्लाका किसानले किवीको राम्रो बजार देखेपछि किवीखेतीप्रति प्रभावित भएर किवीखेती गर्न लागिएको तर अहिले सोचेजस्तो मूल्य नआएपछि उनीहरू निराश भएका छन् । किवीका खेतिका आर्थिक लगानी डुब्न लागेको भन्दै खेतीमा सङ्लग्न किसान चिन्तित भएका हुन् ।
ताप्लेजुङमा पाँचरसात वर्षअघिदेखि किसानले किवीखेती सुरु गरेको पाइन्छ । अहिले धेरै किसानले व्यावसायिकरूपमा किवीखेती लगाउन सुरु गरेका छ । किसानले लगाएको खेतीबाट किवी उत्पादन हुन थालेसँगै बजारमा किवीको माग निरन्तर घट्दै गएकाले सोचेजस्तो फाइदा लिन नपाएको किसानको भनाइ छ । किसानकाअनुसार किवी उत्पादन बढ्दै जाँदा बजार माग भने नभएकाले उनीहरूमा बजारको चिन्ता रहँदै आएको थियो ।
सिरिजङ्गा गाउँपालिका–५ पेदाङका किसान खेलप्रसाद बुढाथोकीले किवीको बजार माग शून्यजस्तै रहेको बताए । जिल्लामा अधिकांश किसानले एकै समयमा किवीखेती शुरु गरेकाले अहिले सबै ठाउँमा उत्पादन हुन थालेको बुढाथोकीले बताए । किवीको बजार नहुँदा उत्पादन धमाधम भए पनि आम्दानी लिनबाट किसानले बञ्चित हुनुपरेको उनको भनाइ छ । उनका अनुसार जिल्लामा झण्डै एक हजार क्विन्टलको हाराहारीमा किवी उत्पादन हुन थालेको छ ।
यस्तै, फुङ्लिङ नगरपालिका–६ का किसान हर्कराज गुरुङले पनि आम्दानी थाप्ने समयमा किवीले बजार नपाउँदा आफूहरू मारमा परेको बताए । किवीको बजार अभावसँगै उचित मूल्य नपाउँदा खेतीमा सङ्लग्न किसान मारमा पर्दै आएको अवस्थालाई दृष्टिगत गरी स्थानीय सरकारले बजार व्यवस्थापनमा सहयोग गर्नुपर्ने गुरुङले माग गरे । शीतभण्डार (कोल्डस्टोर)सहित प्रशोधन गर्ने व्यवस्था भएमा किसानलाई राहत पुग्ने उनको भनाइ छ ।
पाथीभरा याङ्वरक गाउँपालिका–३ तिरिङ्गेका किसान विजय डाँगीले किवीको बजार व्यवस्थाका लागि स्थानीय सरकार हुँदै प्रदेश र सङ्घीय सरकारबाट कुनै सहयोग नहुने हो भने किसानले लाखौँ आम्दानी गुमाउनुपर्ने अवस्था आउने बताए । बजार व्यवस्थामा तीनै तहको सरकारको सहयोग भएमा किवीखेतीमा संलग्न किसानलाई ठूलो राहत पुग्ने डाँगीको भनाइ छ । यसरी उनीहरू जस्तै जिल्लामा किवीको व्यावसायिक खेतीमा संलग्न रहँदै आएका किसान बजार अभावले भौतारिँदै आएका छन् । शुरुमा प्रतिकिलो रु ६०० सम्म पर्ने गरेकामा अहिले स्थानीय बजारमा मुस्किलले प्रतिकिलो रु ८० देखि १०० सम्ममा खरिद–बिक्री हुने गरेको छ । उक्त मूल्यमा पनि जिल्लामा उत्पादन हुने सबै परिमाण खपत नहुने किसानको भनाइ छ ।
फक्ताङलुङ गाउँपालिका–४ इखाबुका स्थानीयवासी कुमारीबुद्ध काम्बाङले पनि किवीबाट राम्रो फाइदा लिन सकिने अवस्था रहँदारहँदै पनि यसबाट किसान बञ्चित हुनुपरेको बताए । शीतभण्डारको व्यवस्था भएमा किवीलाई लामो समयसम्म राखेर उपभोग गर्न सकिने काम्बाङको भनाइ छ । किवीलाई प्रशोधन गरेर जुस, वाइनलगायत रक्सीजन्य परिकार बनाएर उपभोग गर्न सकिने र यसबाट किसानले आम्दानी गर्नसक्ने अवस्था रहेको काम्बाङले बताए ।
यो पनि पढ्नुहोस् :
मोडल भिलेज : घरघरमा बाख्रा, दैलोदैलोमा तरकारी
तरकारी खेतीका लागि टनेल बनाउन के–के सामग्री आवश्यक पर्छ ? कति लाग्छ खर्च ?
कृषिमा रमाउँदै कपिल सर– काँक्रो र गोलभेंडाबाटै ४ लाख आम्दानी
पौरखी शिक्षक: जसले भित्र्याए कृषिमा जापानी प्रविधि
नेपालमा भित्रिए यस्ता कृषि प्रविधि