आजबाट छठ पर्व सुरु, यस्तो छ महिमा
धिरेन्द्र प्रेमर्षी, पत्रकार, संस्कृतिविद्
छठ मिथिला समुदायको मौलिक पर्व हो । कात्तिक चतुर्थको दिनदेखि चार दिन मनाइन्छ । यो पर्व मिथिला समुदायको सभ्यतासँग जोडिएको छ । मिथिला समुदाय जहाँजहाँ सर्दै गए त्यहि नै यस पर्व विस्तार भएको पाइन्छ । छठ पर्व धार्मिक पर्व जस्तो मानिए तापनि मानिसलाई समृद्धि तिर डोहोर्याउने मूख्य विशेषता हो । यस पर्व मनाएमा चर्मरोग नलाग्ने वा निको हुने, सन्तान प्राप्ति र समृद्धि हुने जनविश्वास छ । परम्परागत रुपमा धार्मिक दृष्टिकोणले हेरिए पनि यो पर्व मनाउनु वैज्ञानिक कारण पनि छन् ।
छठको पूजाबाट यसरी हुन्छ चर्मरोग न्युनिकरण
चर्मरोग अर्थात छाला सम्बन्धि रोग प्रदूषित पानीका कारणले हुन्छ । यो पर्व जलस्रोतको पूजा आराधना गरिन्छ । पूजाका निम्ति ती स्रोतहरुलाई सफासुग्घर राख्नु पर्ने हुन्छ । पानीको स्रोत नै सफा र पूजा गरि पवित्र बनाएपछि रोग लाग्ने सम्भावना नरहने र रोग घटेर जाने जनविश्वास छ । यस पर्वलाई सन्तान प्राप्तिसँग पनि जोडिएको छ । खेतबारीमा उत्पादन भएका खाद्यवस्तु स्वस्थ हुने भएकाले बच्चा जन्माउन शक्ति प्रदान हुन्छ ।
कृषि सामग्रीको प्रदर्शनी
यस पर्वमा कृषि उत्पादनका सामग्रीहरु प्रयोग गरिन्छ । ती साम्रीहरु आफ्नो खेतबारीमा उब्जाएकाले कसले कति र कस्ता उत्पादन गर्यो भनेर पुरानो चलनचल्तीमा प्रर्दशन गरिन्थ्यो । छठकै लागि भए पनि व्यक्तिलाई कर्र्मशिल, उत्पादनशिल बनाउने पर्व हो । तर, आजभोलि पूजाका लागि बजारबाट किनेर सामानको प्रयोग गरिन्छ ।
पुराना विद्वानहरुले समाजसुधार र लोककल्याणको परिपाटी बसाल्नका निम्ति यस पर्वलाई धर्मसँग जोडिएको छ । प्रायले सूर्य उदयलाई पुज्ने गर्छन् । तर, यस पर्वमा अस्ताउँदो सूर्यलाई पूजिन्छ । दिनभर उर्जा प्रदान गर्ने सूर्यलाई विदा गर्दा हार्दिकता र सम्मानपूर्वक विदा गरिएको बुझ्न सकिन्छ ।
लचिलो पर्व
छठ पर्व लचिलो पर्वका रुपमा लिन सकिन्छ । यस पर्वमा आफूले उत्पादन गरेका सामानहरुको प्रयोग गरिन्छ । यो पर्वमा आफ्नो खेतबारीमा जे–जति उत्पादन भएका फलफूल, खाद्यसामग्री, तरकारीका परिकार छन्, त्यही नै प्रयोग गरिन्छ । जात विशेषले बनाउने माटोका भाँडा, चोयाका ढकी, नाग्लो नयाँ प्रयोग गर्नुपर्ने हुन्छ । यसले पिछडिएको वर्गको आर्थिक समृद्धिमा सहयोग गर्छ । यस पर्वमा यही सामग्री प्रयोग गर्नुपर्छ भन्ने नभए पनि प्रयोग नगरिएको समान पनि कुनै नभएको देखिँदैन ।
चार दिनको छठमा के–के गरिन्छ ?
छठ पर्वको पहिलो दिन (चतुर्थ) को नहाय–खाय भनिन्छ । यस दिन नुहाएर पवित्र र चोखो खाना खाइन्छ । दोस्रो दिन खरना भनिन्छ । यस दिन बिहानबाट व्रत बसिन्छ । दिनभर व्रत बसी बेलुका खीर पकाएर भगवतीलाई चढाउने, व्रतालुले प्रसादको रुपमा खाने गर्दछन् । तेस्रो दिन पनि त्यही व्रतलाई निरन्तरता दिने गर्दछन् । यस दिन अस्ताउँदो सूर्यलाई अर्घ दिने गरिन्छ । यसको भोलिपल्ट अर्थात चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि यस पर्वको समापन हुन्छ ।
(प्रेमर्षीसँगको कुराकानीमा आधारित)