मिर्गाैला प्रत्यारोपणपछि अझ सक्रिय हुनेहरू
‘मिर्गौला फेल भएपछि आत्मबल बलियो चाहिन्छ । म हाम्रो प्रधानमन्त्री केपी ओलीजीलाई हेरेरै आत्मबल बलियो बनाइरहेको छु । मिर्गौला फेल हुनु एउटा सामान्य रुघाखोकीजस्तै समस्या हो । यसको प्रत्यारोपण सामान्य अपरेशन हो ।’ माथिको भनाइ हो, डायलसिस नगरी मिर्गौला प्रत्यारोपण गरेका झापाका सुनिल ढुङ्गानाको ।
ढुङ्गानाले एक महिना अघि मिर्गौला प्रत्यारोपण गरेका हुन् । खुट्टामा समस्या आएपछि उनी विर्तामोडका चिकित्सकलाई देखाउँदा काठमाडौंमा गएर उपचार गर्ने सल्लाह पाए । काठमाडौंमा परीक्षण गराउँदा आफ्नो दुवै मिर्गौला फेल भएको थाहा पाए ।
डाक्टरले उनलाई तुरुन्तै मिर्गौला प्रत्यारोपण गर्ने सल्लाह दिए । सोधखोज गर्दै जाँदा सरकारी अस्पतालले पाँच लाख सम्मको उपचार निःशुल्क दिने तर निजी अस्पतालमा कुनै सहुलियत नभएको उनले जानकारी पाए ।
तर, सरकारी अस्पतालको सेवा लिन अत्यासलाग्दो थियो । ढुङ्गानाले सुनाए, ‘सरकारी अस्पतालमा आठ सय जना प्रत्यारोपण गर्ने लाइनमा रहेछन् । त्यो हिसाबले मेरो पालो दुई वर्ष पछि मात्र आउने रहेछ ।’ अन्ततः उनी निजी अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्न बाध्य भए ।
पर्यटन ब्यवसायी ढुङ्गाना सबै काम छोडेर अहिले उपचारका लागि काठमाडौंमै बसिरहेका छन् । नेपालको सबैभन्दा अग्लो स्थानमा स्वीङ्ग बनाउँदै गर्दा उनी थलिए । उपचारमा पन्ध्र लाख खर्च भइसकेको छ । अझ कति खर्च हुने हो, थाहा छैन ।
गीता खतिवडा ढुङ्गाना अहिले ६१ वर्षकी भइन् । उनले आफ्नै छोरा सुनिल ढुंगानालाई मिर्गौला दान गरेकी हुन् । उनी नेपालमा सवैभन्दा पाको उमेरमा मिर्गौला दान गर्ने ब्यक्ति समेत बनेकी छिन् ।
उनकी आमा गीता खतिवडा ढुङ्गाना अहिले ६१ वर्षकी भइन् । उनले आफ्नै छोरा सुनिल ढुंगानालाई मिर्गौला दान गरेकी हुन् । उनी नेपालमा सवैभन्दा पाको उमेरमा मिर्गौला दान गर्ने व्यक्ति समेत बनेकी छिन् ।
शारीरिक रूपमा कमजोर हुन्छ भन्ने भनाइ गलत
मिर्गौला प्रत्यारोपण गरेका व्यक्ति शारीरिक रूपमा कमजोर हुन्छ भन्ने सोंचलाई खेलाडी उज्वल दाहालले चुनौती दिएका छन् । २३ बर्षिय उनले मिर्गौला प्रत्यारोपण गरेको चार वर्ष भएपनि खेलकुदमा सक्रिय छन् ।
विश्व मिर्गौला प्रत्यारोपण दिवसको अवसरमा हालै आयोजित खेलकुद प्रतियोगितामा उनी सहभागी भए । प्रत्येक पटक आयोजना हुने यो प्रतियोगितामा उज्वल नियमित जसो सहभागी हुँदै आएका छन् । मिर्गौला प्रत्यारोपण गरेका व्यक्ति पनि आममान्छे जस्तै सक्षम हुन्छन् भन्ने कुरा सावित गर्न पनि उनी सहभागी हुँदै आएका हुन् ।
‘दुईवटा मिर्गौला भएका व्यक्तिले नेपालमा नियमित चेक गराउँदैनन् । तर मिर्गौला फेरेको व्यक्तिले नियमित चेक गराउँछन् । त्यसैले, उनीहरू स्वस्थ हुन्छन् ।’
विश्व प्रत्यारोपण खेलकुदमा नेपालबाट मिर्गौला प्रत्यारोपण गरेका ६ जना खेलाडी सहभागी भएको डा. पुकारचन्द्र श्रेष्ठले बताए । उनका अनुसार दौड, पौडी र स्की लगायतका खेलमा सहभागी भएका छन् ।
‘मिर्गौला फेरेको ब्यक्तिलाई समाजले हेर्ने दृष्टिकोण संकीर्ण छ । तर, हामी मिर्गौला फेरेका ब्यक्तिपनि अरु मान्छेजस्तै काम गर्न सक्छौ ।’ दाहालले भने,‘म पेशाले शिक्षक हुँ, मेरो एजुकेशन ईन्स्टिच्युट पनि छ । म व्याडमिन्टन र फुटबल नियमित खेल्छु । नर्मल मान्छे भन्दा बढी काम गर्न पनि सक्छु ।’
दाहालको विचारमा सरकारले मिर्गौला दान गर्ने व्यक्ति र प्रत्यारोपण गरेका व्यक्तिलाई प्रोत्साहन गर्न स्वरोजगारको व्यवस्था गर्नुपर्छ । यसका साथै औषधी र डायलसिस जस्ता सेवाहरूमा निःशुल्क ब्यवस्था गर्नुपर्छ ।
मिर्गौला प्रत्यारोपण गरेका व्यक्ति अरु व्यक्ति भन्दा स्वास्थ हुने उनको बुझाई छ । दाहाल अगाडि भन्छन्, ‘बरु दुईवटा मिर्गौला भएका व्यक्तिले नेपालमा नियमित चेक गराउँदैनन् । तर मिर्गौला फेरेको व्यक्तिले नियमित चेक गराउँछन् । त्यसैले, उनीहरू स्वस्थ हुन्छन् ।’
एक पटक असफल हुँदैमा आत्तिनु पर्दैन
५८ बर्षिय धर्मराज पौडेलले दुईपटक मिर्गौला प्रत्यारोपण गरिसकेका छन् । उनले पहिलो पटक २०६५ सालमा भारतमा मिर्गौला प्रत्यारोपण गरेका थिए । तर त्यो पूर्ण रूपमा सफल नभएपछि २०६७ सालमा नेपालमै दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरे ।
पौडेलको विचारमा अंग प्रत्यारोपण गरेका ब्यक्तिले आफ्नो स्याहार सुसार गर्ने, धुवाँ–धुलो र भीडभाडबाट जोगिनुपर्छ । यो बाहेक प्रत्यारोपण गरेका ब्यक्तिले खानपिनमा ध्यान दिनुपर्छ । नियमित चेकअप र औषधी सेवन गरेमा सामान्य जीवन जिउन सक्छन् ।
पौडेल बैंकमा काम गर्छन् । मिर्गौला लिने र दिने व्यक्ति अरु मान्छे जस्तै सामान्य जीवन जिउन सक्ने उनको एक दशकको अनुुभवले भन्छ ।
कमजोर फिल नहुने
तीन साता पहिला मिर्गौला प्रत्यारोपण गरेका झापाका दिलिप बराल पनि मिर्गौला प्रत्यारोपणलाई सामान्य अपरेशन जस्तै भएको अनुभव सुनाउँछन् । ‘मिर्गौला फेल भयो भनेर थाहा पाउँदा मानसिक तनाव हुने तर मिर्गौला प्रत्यारोपण सफल भएपछि कमजोर छु जस्तो अनुभव हुँदैन,’ उनले भने ।
नेपालमा मिर्गौला प्रत्यारोपण गर्न सरकारी अस्पतालमा पाँच लाख खर्च लाग्छ र त्यो खर्च सरकारले बेहोर्छ । निजी अस्पतालहरूमा १२ देखि १५ लाख खर्च लाग्छ याे भने सरकारले व्यहोर्दैन ।
दिना बरालले आफ्नो श्रीमान् दिलिप बराललाई मिर्गौला दान गरेकी हुन् । ‘सुरुमा गाह्रो भयो तर अहिले मिर्गौला दिए पनि पहिलेकै जस्तै सामान्य लागेको छ ।’ उनी भन्छिन्, ‘अंग दिँदा हामीलाई खासै फरक पर्दैन । सुरुमा डर हुन्छ तर डर नमानी अंग दिँदा कुनै कमजोर फिल नहुँदो रहेछ ।’
कति छन् मिर्गौला प्रत्यारोपण गर्ने ?
नेपालमा करिब १४ सय जनाले हालसम्म मिर्गौला प्रत्यारोपण गरेको डा पुकारचन्द्र श्रेष्ठले बताए । ९ जनाले कलेजो प्रत्यारोपण गरेका छन् । श्रेष्ठका अनुसार बर्सेनी भारतबाट ३० देखि ४० जनाले अंग प्रत्यारोपण गर्ने गरेका छन् । भारतमा १६ सय तथा नेपालमा करिब १४ सय जना गरी तीन हजारले मिर्गौला प्रत्यारोपण गरेका छन् ।
डा. पुकारचन्द्र श्रेष्ठका अनुसार नेपालमा आठ वटा अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्न सकिन्छ ।
नेपालमा मिर्गौला प्रत्यारोपण गर्न सरकारी अस्पतालमा पाँच लाख खर्च लाग्ने तर त्यो खर्च सरकारले बेहोर्ने र निजी अस्पतालहरूमा १२ लाखदेखि १५ लाख खर्च लाग्ने उनले जनाए ।
कुन–कुन अस्पतालमा हुन्छ मिर्गौला प्रत्यारोपण
डा. पुकारचन्द्र श्रेष्ठका अनुसार नेपालमा आठ वटा अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्न सकिन्छ । सरकारी अस्पताल मानव अंग प्रत्यारोपण केन्द्र, वीर अस्पताल र त्रिवि शिक्षण अस्पताल छन् । दुई वटा मेडिकल कलेज र तीन वटा निजी गरी पाँच वटा अस्पतालले अंग प्रत्यारोपण सेवा दिदैं आएका छन् ।