लघु कथा
खसी ????
मलाई मेरै दाजुभाइले मोलमोलाई गरेर बेच्यो । कोठीमा कोही मेरो आँखा, कोही स्तन, कोही हिप, कम्मर र तिघ्राको स्वादको कुरा गर्दथ्यो, ठिक अहिले मार हान्न लागेको खसीलाई जस्तै, मलाई त्यो बधशालाबाट भगाएर मेरो लोग्नेले केही महिना अघि यहाँ ल्याउनुभयो । मैले पनि खसीलाई म जस्तो हुन दिन सकिनँ र भगाएँ ।
–अनिता लामा
उसले खसी जोख्यो, २२ किलो ३०० ग्राम रहेछ । भनेको मोलमा केही मोलमोलाई भयो, खसी किनियो, गाडीमा हाल्यो । उसको ६ वर्षे छोरो सार्है खुशी देखियो । घरमा पुग्यो गाडीबाट खसी झर्नै मानेन । बेस्सरी करायो, जति करायो घरका मानिसहरू सबै रमायो । कारण यो घरमा खसी ल्याएछ भन्ने सन्देश खसी कराएकोले छिमेकतिर प्रवाह भयो । घरका मानिसहरू मख्ख परे । जबरजस्ती गाडीबाट खसी बोकेर झार्यो, घरका मानिसहरुले पालैपालो दाम्लो समातेर यताउता हिडाल्यो । साना बच्चाहरुले हट् घोडी हट् भनेर खेले । कसैले यसको कान सफा र पातलो रहेछ, पोल्दा छिटै पाक्ने भो भन्यो । बच्चाहरूले पुच्छर समातेर भने : हजुरबा पुच्छर चाहीँ जक्कीलाई है ! जक्की भनेको घरको कुकुर हो । आँखा त क्युटीको जस्तै रहेछ, क्युटीलाई नै दिनुपर्छ है बाबा । क्युटी भनेको सेतो बिरालो हो घरको । अर्कोले उचाल्यो, अलि बोसो छ कि जस्तो छ । बोसो त रक्तिमा लतपताएर भुटन बनाउनपर्छ के, घरकी कोही महिला पात्र बोलिन् । गर्दन चाहीँ गजक्क मोटो रहेछ ह्याकुलासँग मिसाएर झोल बनाउनुपर्छ, अर्को पात्र बोले । खसीलाई घर बाहिर आँगनको कुनामा बाँधियो । केही स्याउला, घाँसहरु राखिदियो । खसी रातभरि करायो, छटपटायो, नजिकै भएको स्याउला पातहरु खाँदै खाएनछन् । श्यामाले मध्यरातमा भान्सामा भएको केही सब्जीहरु लगिदियो, शरीर मुसारिदियो, खसी शान्तपूर्वक बस्यो । भोलिपल्ट विहान दशैंको अष्टमी, घरका सबैजना खसी काट्न तयारी गरे । कोही रक्ति थाप्ने भाँडो खोज्ने भए, कोही खुकुरी साँध लाउन थाले, कोही फोक्सो फुक्ने रहरमा बसे, कोही अचानो खोज्न थाले । सबैले एकै स्वरमा भनें रातभरि कराएर कति डिस्टर्ब गरेको यसले । श्यामा खुसुक्क खसीको विष्ट सफाई गर्दै थिए, डोरी फुस्काइदिए र खसी भगाइदिए । मार हान्ने बेला आयो, खसी थिएन, खसीको डोरी, फोहोर गरेको विष्ट केही थिएन । श्यामा बेस्सरी हाँसिन् र चिच्याइन् : मलाई मेरै दाजुभाइले मोलमोलाई गरेर बेच्यो । कोठीमा कोही मेरो आँखा, कोही स्तन, कोही हिप, कम्मर र तिघ्राको स्वादको कुरा गर्दथ्यो, ठिक अहिले मार हान्न लागेको खसीलाई जस्तै, मलाई त्यो बधशालाबाट भगाएर मेरो लोग्नेले केही महिना अघि यहाँ ल्याउनुभयो । मैले पनि खसीलाई म जस्तो हुन दिन सकिनँ र भगाएँ ।
अनिता लामाद्वारा लिखित अन्य सामाग्रीहरु
‘एकल आमा’
एकल आमा–२
प्लीज पारमिता
‘पाङ्ग्रा’