बाल्यकालको दसैं अनुभव
जहाँ दक्षिणा पाइन्थ्यो, त्यहीँ टीका थाप्न गइन्थ्यो
विपिन कार्की, अभिनेता
मोरङको बेलबारी नगरपालिकामा मेरो बाल्यकाल बित्यो । बाल्यकालको दसैं बेग्लै खालको रमाइलो थियो । नयाँ लुगा लगाउन पाइने, मासुभात खान पाउने, स्कुल जान नपर्ने, पिङ खेल्न पाइने ।
यी कुराले उत्सुकताका साथ दसैंको प्रतिक्षा एकदम धेरै हुन्थ्यो । अहिले व्यावहारिक रुपले सबै आफ्नो जिम्मेवारी थपिएकाले दसैं बाल्यकालको जस्तो रमाइलो छैन । दसैं आएको त्यो बेलाको जस्तो उल्लास पनि छैन । तर, अहिले पनि बुवा आमाको हातबाट टिका थाप्न विराटनगर जान्छु ।
दसैंमा मलाई पिङ खेल्न एकदमै रमाइलो लाग्थ्यो । देवताहरुमध्ये मलाई मन पर्ने देवी हुन् । जुन दसंैमा पूजिन्छन्, त्यो पनि राम्रो लाग्छ । म देवीहरुको मन्दिरमा समय मिलाएर गइराख्छु ।
दसैंमा लङ्गुर बुर्जा खेलिन्थ्यो । त्यो खुब खेल्थे । तर, तास मलाई खेल्न आउँदैन त्यसैले खेल्दिन । बाल्यकालमा पिङ, लाङ्रबुर्जा खेलेको स्मरण अझै पनि ताजै छ । लङ्गुर बुर्जा हल्लाउने बित्तिकै मनमा एकखालको ढुकढुकी हुन्थ्यो । साथीहरु पनि यो खेल भनेपछि निकै उत्साहित हुन्थे । तर, अहिले किन हो त्यतातिर ध्यानै जाँदैन ।
दसैंमा दक्षिणा, अशिर्वाद, सम्मान र श्रद्धाको लागि टीका लगाउने चलन रहेछ । बाल्यकालमा दक्षिणा जहाँ पाइन्थ्यो, त्यहीँ टीका लगाउन रमाइलो लाग्थ्यो । घरमा टीका लगाउँदा छोरी मान्छेलाई मात्र दक्षिणा दिइन्थ्यो । दिदीको दक्षिणा देखेर म पनि छोरी हुन पाएको भए नि हुन्थ्यो भन्ने लाग्थ्यो । मेरो मामाघर सुनसरी हो । जहाँ जाँदा दक्षिणा पाइन्थ्यो । त्यसैले मामाघर टीका लगाउन जान हुटहुटी हुन्थ्यो ।