कोठाअनुसार यस्तो रङ लगाउनुस्
के तपाईको घरको कोठामा रङहरूको संयोजन मिलेको छ ?
धेरैजस्तो मानिसहरू आफ्नो घरमा रङको छनोट गर्दा सेतो, सादा तथा हल्का रङ छान्ने गरेका छन् । सोही रङ भित्री कोठाहरूमा पनि लगाउने गर्छन् । एक हिसाबले हेर्दा यसो गर्दा घरको सजावट गर्न सजिलो पनि हुन्छ । घर सादा पनि देखिन्छ । तर कहिलेकाही अलिकति बोल्ड भएर रङ छानियो भने घरलाई अझ धेरै सुन्दर तथा आकर्षक बनाउन सकिन्छ ।
नयाँ घर बनाइरहेका घरधनीहरू, फिनिसिङ भइरहेको घरको कोठामा कस्तो रङ लगाउने भन्ने विषयमा तपाईहरू अलमलमा पर्नु भएको हुन सक्छ । आउनुहोस्, कोठाअनुसार कस्तो रङ लगाउने भन्नेबारे जानकारी राखौं ।
लिभिङ रुम
घरभित्र छिर्ने बित्तिकैको पहिलो कोठा भनेको लिभिङ रूम हो । यो कोठालाई आकर्षक बनाउन न्युट्रल रङ प्राथमिकता दिनुपर्छ । सेतो रङलाई छान्दा पनि फरक पर्दैन । यस्तो रङले कोठा ठूलो र फराकिलो देखिन्छ ।
बेडरुम
बेडरुम भनेको आराम गर्ने र तरोताजा महसुस गर्ने कोठा हो । बेडरुमको रङले तपाईको मुडमा पनि प्रभाव परिरहेको हुन्छ । यो कोठामा हरियो रङको प्रयोग गर्नु प्रभावकारी हुन्छ । हरियो रङले तपाईलाई शान्ति प्रदान गर्छ र आराम र ताजगी पनि महसुस हुन्छ ।
रातो रङ
तपाईहरूले याद गर्नु भएको होला, धेरैले आफ्नो डाइनिङ रूममा डाइनिङ टेबल र भित्ताको रङ रातो र पहेंलो कलरको कम्बिनेसनबाट बनाएका हुन्छन् । डाइनिङ रूममा रातो कलर लगाउँदा यसले भोक बढाउने गर्छ । यो रङले घरका सदस्यहरू सँगै भएको भावना पनि बढाउने गर्छ ।
नीलो रङ
नीलो रङले फोकस र कन्सन्ट्रेशन बढाउने काम गर्छ । यदि तपाई घरमा सानो अफिस अथवा रिडिङ रुम बनाउदै हुनुहुन्छ भने त्यो एरीयाको भित्ताहरूमा नीलो रङ प्रयोग गर्न सक्नु हुन्छ ।
किचन
घरको भान्सा कोठामा पहेंलो रङको प्रयोग गर्दा राम्रो प्रभाव परेको हुन्छ । पहेंलो रङलाई तातो रङ पनि भनिन्छ । साथै, आनन्द तथा उत्साहको रङ पनि भनिन्छ । भान्सा कोठा भनेको त्यस्तो ठाँउ हो, जहाँ परिवारका सबै सदस्यहरू एकै ठाउँमा जम्मा हुन्छन् । त्यसैले भान्सा कोठालाई पहेलो रङले सजाएर न्यानोपनले भर्नुहोस् ।