यी हुन् घाँटी खसखस गर्नुका कारण ? कसरी बच्ने ?
मौसम परिवर्तनसँगै थुप्रै मानिसहरुमा घाँटी खस खस गर्ने र दुख्ने समस्या देखा पर्छ । तर, घाँटी खसखस गर्ने विभिन्न कारण हुन्छन् । जसमध्ये मुख्य कारण भनेको एलर्जी हो । घाँटीमा खसखस वायु प्रदुषणका कारण पनि हुने गर्छ । यसले घाँटीमा मात्रै होइन, हाम्रो शरीरको जुनसुकै भागमा पनि असर गर्न सक्छ । जाडरक्सी सेवन, चुरोटको सेवन र धेरै मात्रामा चिल्लो पिरो खाँदा पनि घाँटीमा खसखस हुनसक्छ ।
पेटको खराबी पनि यसको कारण हुनसक्छ । मुखमा अमिलो पानी आइरहने बिरामी, ग्यास्ट्रिकका समस्या हुनेलाई पनि घाँटी खसखस हुन्छ । कहिलेकहीँ कुनै शारीरिक समस्या नभएका मानसिक रोगका बिरामीलाई पनि यो समस्या देखा पर्न सक्छ । मानसिक तनाव हुँदा पनि यस्तो समस्या हुन्छ । यस्तो हुँदा मनोपरामर्शको आवश्यकता पर्छ ।
नाक, कान र घाँटीको समस्या जस्तै पिनासले गर्दा पनि घाँटीमा खसखस हुन्छ । खाने पाइपको नलीमा ट्युुमरहरु भइरहेको छ भने पनि घाँटी खसखस हुनसक्छ । अहिलेको सन्दर्भमा कोरोना संक्रमणको कारणले पनि घाँटी खसखस हुने समस्या हुन सक्छ । पोष्ट कोभिड सिम्टमको रुपमा पनि यो समस्या देखिन सक्छ ।
जोगिने उपाय र उपचार
– घाँटी खसखस गर्ने कारणहरु धेरै हुने भएकोले परीक्षण गरी कारण पत्ता लगाउनु पर्छ । नाँक कान घाँटी रोग विशेषज्ञ डाक्टरकहाँ गएर एन्डोस्कोपी गरेर हेर्नु पर्छ र चिकित्सकको परामर्शअनुसार उपचार गर्नुपर्छ ।
– खासगरी घाँटी खसखसको समस्याबाट बच्नका लागि वातावरण र खानेकुरामा विशेष ख्याल राख्नुपर्छ । प्रदूषित ठाउँमा धेरै नबस्ने, मद्यपान, धुम्रपानमा नियन्त्रण गर्ने, चिल्लो, पिरो धेरै नखाने गर्दा पनि यो समस्या कम हुँदै जान्छ ।
– परीक्षण गर्दा कुनैपनि कारण पत्ता लागेन भने मानसिक तनावले पनि घाँटी खसखस गरेको हुनसक्छ । त्यसैले धेरै तनाव र चिन्ता नलिने र मनोपरार्शदातासँग सल्लाह लिनुपर्छ ।
– एलर्जी भइराख्ने बिरामी र अमिलो पानी घाँटीमा पुग्दा अमिलो डकार आउनेजस्ता कारणले पनि घाँटी खसखस हुन सक्छ । यसको लागि ग्यास्ट्रिक सम्बन्धि विशेषज्ञको सल्लाहअनुसार उपचार गर्नु पर्छ ।
– कोरोना संक्रमणको कारणले तथा पोष्ट कोभिड सिम्टमको रुपमा पनि घाँटी खसखस गर्ने समस्या हुने भएकाले कोरोना परीक्षण गर्नुपर्छ ।
यो पनि पढ्नुहोस्
यी हुन् अल्सर हुनुका कारण, कसरी बच्ने ?
आँखामा देखिने समस्याबाट कसरी बच्ने ?
यी हुन् नियमित घ्युकुमारी प्रयोग गर्नुका फाइदा