अभिनेत्री सोभिता सिंखडाको नजरमा पढ्नै पर्ने ४ पुस्तक
अभिनेत्री सोभिता सिंखडा अध्यात्ममा लागेको लामो समय भयो । उसो त उनी फूर्सदको समयमा पुस्तक पढ्न एकदमै रुचाउँछिन् । उनले अहिलेसम्म थुप्रै पुस्तकहरु पढिसकेकी छिन् । ओशोको भक्त भएकाले गर्दा उनले ओशोको पुस्तकहरु त झन् धेरै पढेकी छिन् । यदि तपाईं फुर्सदिलो हुनुहुन्छ र पुस्तक पढेर समय बिताउने सोंचमा हुनुहुन्छ भने नायिका सिम्खडाको नजरमा पढ्नै पर्ने ४ पुस्तक यस्ता छन् :
सेतो धर्ती
अमर न्यौपानेद्वारा लिखित सेतो धर्ती मैले पढेका पुस्तकहरु मध्ये एकदमै मन परेको पुस्तक हो । सेतो धर्तीको तारा भन्ने पात्रलाई जसरी पुस्तकमा प्रस्तुत गरिएको छ । त्यो मलाई असाध्यै राम्रो लागेको हो । जीवनको उत्तारचढावको बारेमा यो पुस्तकमा राम्रोसँग लेखिएको छ । यो पुस्तक जतिपटक पढे पनि दिक्क लाग्दैन । त्यसैले यो पुस्तक मलाई असाध्यै प्रिय लाग्छ ।
समर लभ
मैले पढेको पुस्तकहरु मध्ये समर लभ पनि असाध्यै मन परेको पुस्तक हो । युवा पुस्ताहरुले धेरै मनपराएको पुस्तक पनि हो–समर लभ । साधारण प्रेम कथामा आधारित यस पुस्तकमा भाषा पनि निकै सरल प्रयोग भएको छ । कथामा प्रस्तुत भएका पात्रहरु साया र अतित पनि असाध्यै प्रिय लाग्छन् । पछि यो पुस्तकको फिल्म पनि बन्यो तर, पुस्तक पढेको जस्तो फिल्म त्यति धेरै राम्रो लागेन यो कुरा मैले लेखकलाई पनि भनेको थिएँ ।
सुम्निमा
यो साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित उपन्यास हो । यसमा सुम्निमा र सोमदत्तबीचको प्रेमप्रसंगको यौन मनोविज्ञानको बारेमा विश्लेषण गरिएको छ । यसमा एक व्राह्मणले आफ्नो धर्म त्याग्दा समाजमा के असर पर्दो रहेछ भनेर देखाउन खोजिएको छ । मपनि धर्मसँग नजिक भएकाले यसको पात्र सोमदत्त राम्रो लागेको थियो । उपन्यासमा प्रेमले मानिसलाई शारीरिक रूपमा टाढा बनाए पनि मानसिक रूपमा नजिक नै राख्छ भन्ने सन्देश दिएको छ ।
शिरिषको फूल
साहित्यकार पारिजातको शिरिषको फूल उपन्यास पनि मैले पढेका पुस्तकहरु मध्येका एकदमै मन परेको पुस्तक हो । ‘शिरिषको फूल’ उपन्यासले तत्कालिन नेपालको आर्थिक सामाजिक सम्बन्ध, स्थिति र तत्कालिन प्रेमकथालाई उठान गरेको छ । फरक परिवेशका फरक दुई पात्रहरुबिचको प्रेम कथा हो ‘शिरिषको फूल’ । आधुनिक बन्न खोज्दै गरेको र सँगसँगै रुढीवादी मान्यता राखेको दुई परिस्थितिका बिचका पात्रहरुको मनमा उब्जिरहेको मनोदशा र मनोविज्ञान यस उपन्यासमा चित्रण गरिएको छ ।
यो पनि पढ्नुहोस्
गायक महेश काफ्लेको नजरमा पढ्नै पर्ने तीन पुस्तक
सुबिन भट्टराईको नजरमा पढ्नै पर्ने ३ पुस्तक
गौरी मल्लको नजरमा पढ्नै पर्ने ३ पुस्तक